एकेडेमी धान्न फुटवल टुर्नामेण्ट, १६ औं संस्करणबाट २४ लाख नाफा

पोखरा, भदौ ९ ।
फुटवल खेल्न जन्मिएको एउटा समूह । अग्रजले फुटवल खेलेरै स्थापित गरेका सहारा क्लव । एकाएक मोडियो समाजसेवामा पनि । आज सहारा फुटवल क्लवमा मात्रै सीमित छैन । धेरै बालकहरुको अभिभावक र सामाजिक विकासको नेतृत्व अहिले सहारा क्लवको पहिचान हो । २०५८ सालदेखि क्लवले दोविल्लामा आफ्नै एकेडेमी सञ्चालन गरेको छ । २०७० बैशाखदेखि दोविल्लामा आफ्नै भवन र मैदान बनाएर बालकहरुलाई आश्रय दिईरहेको छ ।

हाल एकेडेमीमा १४ जिल्लाका २८ जना विपन्न र आमाबाबु गुमाएका बालकहरु छन् । ‘महिनाको साढे २ लाख भन्दा बढी खर्च निस्किन्छ । त्यसबाहेक अरु ब्यवस्थापनको पनि छुट्टै खर्च छ, क्लवका अध्यक्ष केशव थापा भन्छन्–सबै रकम सहयोगीबाट सहयोग जुटाएरै खर्च गर्ने हो । त्यसकै लागि बर्षेनी खेलकुद टुर्नामेण्ट पनि गरिरहेका छौं ।’ एकेडेमी सञ्चालन गर्नका लागि पनि क्लवलाई फुटवल प्रतियोगिता गर्नुपर्ने बाध्यता छ ।

प्रतियोगिताबाट आम्दानी भएको सबै रकम एकेडेमी सञ्चालनमै खर्च हुने क्लवले जनाएको छ । हरेक बर्षजसो क्लवले फुटवल खेलाएर २०–२२ लाख रुपैयाँ जुटाउँछ । अघिल्लो बर्ष चलेको १६ औं संस्करणको आहा रारा गोल्डकपबाट पनि करिब २४ लाख रुपैयाँ नाफा भएको छ । ११ दिनसम्म चलेको प्रतियोगिताबाट १ करोड कारोबार गर्दै २३ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको आयोजक सहारा क्लवले जनाएको छ ।

शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आम्दानी र खर्च सार्वजनिक गरिएको हो । मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १६ औं संस्करण अघिल्लो बर्षको माघ ९ देखि २० गतेसम्म चलेको थियो । अब्यवस्थित रंगशालामा पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको क्लवले जनाएको छ । ‘कोही चर्किएको प्यारापिटमा बसेर खेल हेर्नुभयो । धेरै दर्शकहरु उभिएर पनि खेल हेरिरहनुभएको थियो, अध्यक्ष थापाले भने–यसले क्लवलाई निरन्तर हौसला मिलिरहेको छ । आगामी दिनमा झनै राम्रो गर्न प्रोत्साहन मिलेको छ ।’ प्रतियोगितामा हालसम्म ७० लाख ६५ हजार रुपैयाँ खर्च भएको छ ।

रंगशाला अहिले निर्माणका लागि भत्काईएको छ । जसका कारण निरन्तर हुँदै आएको १७ औं संस्करणको आहा रारा गोल्ड कप कहाँ गर्ने भन्नेपनि टुंगिएको छैन । १७ औं सस्करणको लागि सहारा क्लब पर्ख र हेरको स्थितिमा रहेको अध्यक्ष थापाले बताए । ‘पुर्वाधार बनाउने काम सरकारको हो । रंगशाला बनाउन हामीले सक्दैनौं, उनले थपे–प्रतियोगिता नजिक आईपुग्दा अवस्था हेरेर ठाउँ फाइनल गर्छौं ।’