एउटै दुर्घटनामा दुई वडाध्यक्षको मृत्यु, चितवन काँग्रेस शोकमा

चितवन, फागुन ७ ।
चितवनको खैरहनि नगरपालिका वडा नं ४ र ५ का वडाध्यक्षको सवारी दुर्घटनामा मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको मृत्यु भएको हो । गएराति भएको दुर्घटनामा वडा ५ का अध्यक्ष बस्नेतको राति नै मृत्यु भएको थियो भने ४ का अध्यक्ष अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नंको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नंको गाडी एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि भागेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
द्युई अध्यक्षको मृत्यु भएपछि यतिबेला चितवन काँग्रेस शोकमा छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शोक व्यक्त गर्दै दुबैप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु अहिले दुवै वडा अध्यक्ष प्रति श्रद्धाञ्जली दिन पार्टी कार्यालय र उनका आफन्तको घरमा जम्मा भएका छन् ।