उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन नेकपाको आग्रह

 

काठमाडौं, पुस २६ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखको राजीनामापछि सभामुखको उम्मेदवार तय गरिने जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुख पद आफूसँगै राख्नका लागि नेकपालाई उपसभामुख पद छोड्नुपर्ने बाध्यता छ ।

उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउँदैन ।

यसैकारण नेकपाले आफ्नो तर्फबाट निर्वा्चित उपसभामुखलाई राजीनामा दिन आग्रह गरेको हो ।

उपसभामुख तुम्बाहाङफेले राजीनामा दिए नेकपालाई सभामुखका लागि उम्मेदवारी दिन बाटो खुल्नेछ ।

नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

प्रतिनिधिसभाको बैठक आइतबार (भोलि) दिउँसो १ बजे बस्दैछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
(ईमेजखबरबाट साभार)