उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण : राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति

 

काठमाडौं, मंसिर १८ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोकले) विभिन्न ५२ पदका लागि मंसिर १४ गते भएको उपनिर्वाचन सामान्य घटनाहरुबाहेक स्वतन्त्र र शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ ।

उपनिर्वाचन २०७६ को अन्तरिम प्रतिवेदन सार्वजनिक गर्न बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नियोकले मतदान अवधि, मतदाताको सहभागिता, सुरक्षा सहभागिता र व्यवस्थापनको दृष्टिकोणबाट निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण भएको जनाएको हो ।

तर, नियोकले निर्वाचनका निम्ति परिचालन गरिएका कर्मचारीहरुलाई उचित तालिम र दक्ष बनाउन नसकेको, प्रशासनिक कार्यमा अस्पस्टता देखिएको र गुणस्तरहीन निर्वाचन सामग्रीहरु प्रयोग गरिएको जनाएको छ ।

यस्तै, मतदाता नामावलीमा प्राविधिक त्रुटि देखिएको, थपिएका मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र अघिल्लो निर्वाचनमा मतदान गर्न पाएका मतदातालेसमेत प्राविधिक त्रुटिकै कारण उपनिर्वाचनमा मतदान गर्न नपाएको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्ला निर्वाचनहरुमा जस्तै यसपटक पनि कतिपय मतदानस्थलको छनोट सहज पहुँचयोग्य नभएको, राजनीतिक दलबाट समस्त निर्वाचन अवधिभर निर्वाचन आचारसंहिताको पालना गरेको नपाइको, मतदाता शिक्षा कर्मकान्डी भएको, निर्वाचन प्रचार अभियानमा खर्चको सीमा र बन्देजहरुको पालना नभएको नियोकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
(ईमेजखबरबाट साभार)