उपत्यका भित्रकै गाउँपालिकामा एम्बुलेन्स छैन

 

ललितपुर, फागुन १ ।

स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन ।

यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् । वडा नं ६ आश्राङ् निवासी ६१ वर्षीय मानबहादुर बोम्जन तामाङले गाउँमा कोही बिरामी पर्दा जीप बोलाएर रु आठ देखि १० हजार तिरेर चापागाउँ अस्पताल लैजानुपर्ने बाध्यता रहेको जानकारी दिए ।

गाउँपालिकाभित्र हुने बिरामीको समस्या समाधान गर्न एम्बुलेन्स खरीदका लागि गत वर्ष नै आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

अबको एकदेखि डेढ महिनामा एम्बुलेन्स गाउँपालिकामा भित्र्याउने उनले जानकारी दिए । गाउँपालिकाभित्र करीब ६ हजार जनसङ्ख्या रहेको छ ।

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाले केही समयअघि रु. १४ लाख तिरेर एउटा एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले जानकारी दिए ।

उनले भने, “हाम्रो गाउँपालिकाभित्र लगभग १० हजार जनसङ्ख्या रहेका छन्, कोञ्ज्योसोमबाट चापागाउँ अस्पताल आउन थोरैमा पनि १५ किलोमिटर पार गर्नुपर्ने भएकाले हालसम्म एउटा एम्बुलेन्स भए पनि बिरामीलाई राहत नै भएको छ ।”

करीब १२ दिनअघिमात्रै महाँकाल गाउँपालिकामा एउटा एम्बुलेन्स भित्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा एम्बुलेन्स महाँकालमा भित्र्याइएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए ।

लामो समय एम्बुलेन्सविहीन रहेको सो गाउँपालिकाबाट पाटन अस्पताल आइपुग्न ६५ किलोमिटर पार गरेर बिरामीका आफन्तले भाडामा सवारीसाधन लिएर आउनुपर्ने समस्याको अन्त्य केही दिनअघि मात्र भएको छ । (रासस)