उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

 

गाईघाट, भदौ २ ।

उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ ।

केही हप्तायता जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो । डेढ महिना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेङ्गु अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेङ्गु रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

यसरी डेङ्गुबाट बिरामी परेकामध्ये केहीलाई जिल्लामा नै उपचार भइरहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा उपचार भइरहेकोसमेत स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । (रासस)