उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने निर्णयको राष्ट्रपति ट्रम्पद्वारा बचाउ

 

एजेन्सी, असोज ३० ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको सिरियाको भूमी आफुहरुको सीमा क्षेत्र नभएको र विद्रोही कुर्द लडाकु देवदुत पनि नभएको टिप्पणी गरे ।

अमेरिकी सेना फिर्ता बोलाएर आफ्नै समर्थक रहेका कुर्द लडाकुविरुद्ध टर्कीलाई आक्रमणका लागि हरियो झण्डा देखाएको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।

सेना फिर्ता बोलाएको भन्दै राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन सांसद र विपक्षी डेमोक्रेटिक सांसदले तल्लो सदनमा खेद प्रस्तावमा मतदान गरेका छन् ।

यता राष्ट्रपति ट्रम्पले भने कुर्द लडाकुविरुद्ध टर्कीको हमला अमेरिकाको समस्या नभएको बताएका छन् ।

चरमपन्थी संगठन इस्लामिक स्टेटको कारबाहीमा कुर्द सेनाले गरेको समर्थनको बदलामा अमेरिककाले थुप्रै रकम दिएको उनको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेना सुरक्षित रहेको भन्दै लडाइ नलडिकन पनि लक्ष्य हासिल गर्न सकिने बताए ।

पछिल्लो घटनालाई आफुले नजिकबाट नियालीरहेको भन्दै टर्कीलाई राम्रो गर्नका लागि प्रोत्साहन गरिरहेको उनको भनाइ थियो ।

यसअघि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा जारी राखेको सैन्य कारवाही अन्त्य गर्न अस्विकार गरेको थियो ।

कुर्दिस समुदायलाई लक्षित गरी अघिल्लो हप्तादेखि जारी सैन्य कारवाही रोक्न अमेरिका लगायत विभिन्न राष्ट्रले गरेको आग्रहलाई टर्कीले अस्विकार गरेको हो ।

टर्कीले आफुसँग जोडिएको सिरियाको सीमा क्षेत्रबाट कुर्द लडाकुलाई हटाएर त्यहाँ ३२ किलोमिटरको एक सुरक्षित स्थल बनाउन चाहेको छ ।

जहाँ बीस लाख सिरियाई शरणार्थीलाई फेरि बसाउन सकियोस ।