उत्तर–दक्षिण जोडियो कालीगण्डकी करिडोर

बागलुङ, असोज १० ।
उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक पूरा भएको छ । मंगलबार बिशेष कार्यक्रमबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले करिडोर उद्घाटन गरे । असार मसान्तमै ट्रयाक खोलिएको भएपछि विभिन्न ठाउँमा सडकको स्तरोन्नती र खोला तथा नदीहरुमा बेलिवृज निर्माण भएसँगै करिडोरको सबै ठाउँमा गाडी चल्न थालेका छन् ।
सेनाको उच्च पदस्थ व्यक्ति, सांसद प्रकाश शर्मा पौडेल र प्रधानसेनापतिको उपस्थितिमा कालीगण्डकी करिडोर बागलुङ खण्डबाट यातायातको सञ्चालनको सुरुवात गरिएको हो । उद्घाटनपछि बोल्दै क्षेत्रीले सडकले देशकै विकासमा कोसेढुंगा सावित हुने बताए ।
यस्तै संसद विकास समितिका सदस्य प्रकाश शर्मा पौडेलले दिगो विकास निर्माणका लागि दुई देशीय पारबाहनमा यो सडक आयोजना महत्वपूर्ण हुने बताए । उनले दुई वर्ष भित्र डिपीआर तयार गरी कालापत्रे गर्ने प्रकृया सुरु गर्ने प्रतिबद्धता जनाए । ‘आगामी दुई बर्षभित्रै डिपीआर सकेर कालोपत्रे गर्ने प्रक्रिया सुरु हुन्छ, उनले भने–राष्ट्रिय गौरवको आयोजना भएकाले बजेटको कमी हुँदैन ।’
ठेकेदारमार्फत सडक निर्माणमा ढिलाई हुने भएपछि सांसद पौडेलको पहलमा विभिन्न राजनीतिक दल, संघसंस्था र स्थानीयहरुको सहमतीमा सेनालाई जिम्मा दिइएको थियो । करिडोर ट्रयाक निर्माण गर्ने काम सेनाले निर्धारीत समय अवधिभित्रै पूरा गरेको हो ।
चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दुरीको यो सडक आयोजना त्रिदेशीय व्यापार तथा पारबाहनमा महत्वपूर्ण मानिन्छ । सडक चीनको कोरला देखि भारतको सुनौली सम्म ४ सय ३५ किमी लामो छ । गत असार मसान्तमा करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको थियो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका हुँदै म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, बुटवल हुँदै भारतको कोरला नाका सम्म सिधा यातायात जोडिएको करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए ।