उत्तरप्रदेशका मन्त्रीले भने–वास्तविक सुन्दरता हेर्न पोखरा जानुस्

प्रकाश ढकाल
लखनउ, असार ३२ ।
उत्तरप्रदेशकी पर्यटनमन्त्री रिता बहुगुणा जोशीले भ्रमणको पहिलो गन्तब्य नेपाल रहेको बतएकी छिन् । पश्चिमाञ्चल होटल संघको आयोजनामा भैरहेको चलिए पोखरा अभियानलाई लखनउमा सम्बोधन गर्दै उनले नेपाल र भारतबीच नामबाहेक सबै क्षेत्रमा समानता रहेको बताईन् । ‘नेपाल र भारत फरक नाम भएपनि भौगोलिक, सांस्कृतिक र ऐतिहासिक हिवासले एउटै हो । पशुपतिनाथ नपुगेसम्म भारतीय नागरिकको कर्म पूरा हुँदैन, उनले भनिन्–मैले ४० देश घुमेको छु तर काठमाण्डौंबाट सुरु गरेको हुँ । मेरो लागि काठमाण्डौं महान छ । त्यसैले सबैभन्दा भाग्यमानी उत्तरप्रदेश हो । किनकी हामी घरबाट निस्किने वित्तिकै नेपाल पुग्छौं ।’

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध झनै प्रगाढ बनेको उनको भनाई छ । ‘के छ थाईल्याण्ड, सिंगापुर, माल्दिभ्समा ? जुन चिज नेपालमा छ, नेपालको प्रशंसा गर्दै उनले थपिन्–रामायण, महाभारत, कृष्ण र बद्ध सर्किटले नेपाल भारत जोडिएको छ । दुईतर्फी सम्बन्ध जोडौं दुवै देशलाई फाईदा छ ।’ उत्तरप्रदेशका सबै पर्यटकलाई नेपाल पठाउने उनले प्रतिवद्धता जनाईन् ।

उत्तरप्रदेशका परिवहन मन्त्री स्वतन्त्र देव सिंहले नेपाल र भारतको पर्यटन विकासका लागि यातायात क्षेत्रको सुधार आवश्यक रहेको बताए । उनले भारत सरकार र नेपाल सरकारले संयुक्त रुपमा यातायातमा सुधार ल्याउनुपर्ने सुझाए । उनले नेपाल सरकारसँग समन्वय गरेर उत्तर प्रदेशका विभिन्न शहरबाट सीधा बस सेवा सञ्चालन गर्ने बताएका छन् । ‘नेपाल र भारतको सम्बन्ध अहिलेको हैन । सत्ययुगमा राम र माता सीताको विवाहले सम्बन्ध जोडियो त्यसलाई कलियुगमा पनि जोडिराख्नु हाम्रो दााियत्व हो, उनले भने–पर्यटनले परस्पर सम्बन्ध विस्तार गर्छ र सँगै रोजगारीको सिर्जना हुन्छ । ताजमहल घुम्न हाम्रो निम्तोे छ । हामी नेपाल घुम्न पर्यटक पठाउँछौं ।’

पुर्वमन्त्री सञ्जीव बंशलले पर्यटन विकासका लागि पहिले त्यस क्षेत्रको समस्या समाधान हुनुपर्ने बताए । ‘विकासभन्दा पहिले समस्या पहिचान गरौं । नेपाल सरकारले नेपालभित्र र उत्तर प्रदेशले प्रदेशभित्रको समस्या समाधानका लागि पहल गर्नुपर्छ, उनले भने–सडक यातायात र हवाई उडान हाम्रो मुख्य पक्ष हो । यसको सुधार तत्काल गरौं र थप सुविधा बढाऔं ।’ उनले बास्तविक सुन्दरता हेर्न पोखरा अन्तिम गन्तब्य भएको उल्लेख गरे । भारतमा पनि धेरै ठाउँहरु घुम्न लायक छन् । संसारका धेरै देशहरु राम्रा छन्, उनले थपे–तर वास्तविक सौन्दर्य देख्ने मन भए पोखरा जानुस् । पोखरा साच्चिकै स्वर्ग जस्तो छ ।’

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले पोखरा र नेपालको पर्यटनमा लखनउको ठूलो सहयोग रहेको भन्दै प्रशंसा गरे । उनले नेपालमा पर्यटनमैत्री ब्यवहार विकासका लागि विभिन्न कार्यक्रमहरु भैरहेको जानकारी गराउँदै सरकार पर्यटन विकासमा निरन्तर लागिरहेको धारणा राखे । नेपालको अधिकांश पर्यटन भारत र त्यो पनि छिमेकी राज्यहरुबाट धानिएको छ, उनले भने–नेपालका लागि भारत निकै ठूलो पर्यटन बजार हो । हामी यसलाई अझै बढाउन चाहान्छौं ।’

थपलियाले भारतका सरकारी उच्च अधिकारीको भ्रमण नेपालमा मिलाईदिन उत्तर प्रदेशको सरकारसँग आग्रह गरेका छन् । पश्चिमाञ्चल होटल एसोशियसनले यसपटक सातौं संस्करणको चलिए पोखरा अभियान अन्तर्गत भारतका विभिन्न शहरहरुमा प्रचार र प्रबद्र्धनात्मक कार्यक्रम गरिरहेको छ । पटना, बनारस, लखनउ लगायत शहरमा पोखराको विशेष जोड रहेको होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

भारतमा जुन, जुलाई, अगष्टमा हुने चर्को गर्मी छल्न भारतीय नागरिकलाई पोखरा आउन उनले निम्तो दिए । होटल संघका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली चलिए पोखरा अभियानले पोखरामा भारतीय पर्यटक निकै बढेको बताए । अल इण्डिया ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसियसनका अध्यक्ष इन्द्रजीत सिंहले पर्यटनका माध्यमवाट भारतमा ३५ प्रतिशत जिडिपी योगदान मिल्ने बताए । उनले नेपाल र भारतको पर्यटन विकासमा दुवैदेशका ब्यवसायी सहकार्य गरेर अघि बढ्नुपर्ने औल्याए ।