उड्ने ट्याक्सी पोखरा भित्रियो (भाडा कति लाग्छ ?)

पोखरा, असोज २३ ।
अचम्म लाग्ला, ट्याक्सीमा पनि उड्ने ? प्रविधिको युग हो अचम्म नमान्नुस् । बरु ट्याक्सीमा उडेर पोखरा घुम्ने भए मौका नगुमाउनुस् । हेलिएयरले लाइट हेलिकप्टर (ट्याक्सी) मार्फत पोखरामा व्यवसायिक उडान सुरू गरिसकेको छ । गत साउनमा उडान अनुमति पाएको हेलिएयरले भदौ २२ गतेदेखि व्यवसायिक उडान गरिरहेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेका अनुसार अहिले एउटा ‘जेरोकप्टर’ बाट दैनिक ४५ उडान भइरहेको छ । दुवै विमानबाट एकैसमयमा उडान गर्न पर्याप्त पाइलट नभएकाले मिलाएर गरिएको उनले बताए ।
‘पाइलटहरूको प्रशिक्षण भइरहेको छ । सकिएपछि छिट्टै दुवै विमान पूर्णरुपमा उडान गर्नेछौं’ उनले भने ।’ दुइटा ‘लाइट हेलिकप्टर’ फ्रान्सबाट ल्याएर हेलिएयरले पोखरा विमानस्थलबाट व्यवसायिक उडान थालेको हो । यसमा विदेशी पर्यटकहरू निकै आकर्षित छन् ।
अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यो हेलिकप्टर सेवा दक्षिण एसियामै पहिलो भएको कम्पनीको भनाइ छ । पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ ।
यसमा चालकसहित दुई जना यात्रा गर्न मिल्छ । जमिनबाट ५०० देखि १२ हजार मिटरसम्मको उचाइमा उड्न सक्ने यो हेलिकप्टरबाट दृश्यावलोकन निकै रोचक हुने कम्पनीका पाइलट सन्त बहादुर लामिछानेले बताए । झण्डै ३६० डिग्रीमा दृष्य देख्न सकिने यो हेलिकप्टरका यात्रुले सतह नजिकबाट चारैतिर स्पष्ट दृष्यावलोकन गर्न सक्छन् । लामिछानेका अनुसार अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरी चलेकाबेला पनि लाइटले सजिलै उडान पार गर्न सक्छ । ‘हावाहुरी र अँध्यारोमा पनि उड्न सक्ने विशेषताका कारण यो आपतकालिन उद्धार र यात्रामा बढी प्रचलित छ,’ उनले भने । अबको छ महिनाभित्र नेपाली पाइलट तयार गर्ने लक्ष्य कम्पनीको छ ।
कति समय उड्दा कति रुपैयाँ लाग्छ ?
हेलिएयरले हाल पाँचवटा प्याकेज ल्याएको छ। विदेशी र नेपालीको लागि एउटै दर निर्धारण गरेको कम्पनीसँग १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज छ ।
पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा, लेकसाइड र रानीवनको दृष्यावलोकन १५ मिनेटको प्याकेजमा छ । यसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ । माछापुच्छ्रे हिमाल, अन्नपुर्ण श्रृंखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्प दृष्यावलोकन हुने पोखरा प्याकेज ३० मिनेटको छ । यसको भाडा २५ हजार रुपैयाँ पर्छ ।
सिक्लेस गाउँ, अन्नपुर्ण श्रृंखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहित एक घण्टे प्याकेजको भाडा ४० हजार रुपैयाँ छ । ९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक समावेश गरिन्छ । यसको भाडा ५५ हजार रुपैयाँ छ ।
‘अल्पाइन टुर’ प्याकेज दुई घण्टाको छ । यसमा माउन्टेन उडानसँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराइन्छ जसको भाडा ६ सय ९८ अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ । यी सबै भाडा सुरुआती रहेका र पछि यात्रुको प्रतिक्रियासँगै पुनर्विचार हुँदै जाने कम्पनीले जनाएको छ ।