इराकमा भ्रष्टाचारविरोधी प्रदर्शन जारी, थप १५ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

 

बग्दाद, मंसिर १४ ।

इराकमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु १०० भन्दा बढी घाइते भएको जनाइएको छ ।

देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

‘पछिल्लो विवरणअनुसार थप १५ प्रदर्शनकारी मारिएका छन् । अरु १०० भन्दा बढी घाइते भएका छन् भने कैयौंलाई अश्रुग्यासको असर परेको छ’–नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने ।

धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजीनामा दिएका छन् ।

धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उनले राजीनामा दिएको उल्लेख गरेका छन् ।

केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आमप्रदर्शन जारी रहेको छ । गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ ।

प्रदर्शन चर्कंदै गएपछि इराकका प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्योल थप बढेको छ ।

(रासस–सिन्ह्वा)