इजरायलका प्रधानमन्त्री बेन्जामिनले अन्य दलसँग गठबन्धन गर्न नसक्दा नयाँ सरकार गठन गर्न नसकेको स्वीकारे

 

एजेन्सी, कार्तिक ५ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अन्य दलसँग गठबन्धन गर्न नसक्दा नयाँ सरकार गठन गर्न नसकेको बताएका छन् ।

गत महिना भएको संसदीय निर्वाचनमा कुनै पनि प्रतिस्पर्धी दलले सुविधाजनक बहुमत नल्याएकाले गठबन्धन सरकार बनाउनुपर्ने भएको हो ।

तर लामो समयसम्म दलहरुबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा एकमत नहुँदा सरकार गठनको प्रयास असफल भएको नेतान्याहरुले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

दक्षिणपन्थी लिडुक पार्टीका नेता र नेतान्याहूले आफ्ना मुख्य प्रतिद्वन्द्वी तथा पूर्व सैन्य प्रमुख बेन्नी गान्ट्ससँग मिलेर गठबधन सरकार गठन गर्ने अपेक्षा गरिएको थियो ।

तर लामो प्रयास असफल भएपछि प्रधानमन्त्री नेतान्याहूले सरकार गठनका लागि आफूले थालेको प्रयासमा अन्य दलहरुले साथ नदिएको आरोप लगाएका छन् ।

मत परिणाम अनुसार सबैभन्दा बढी सिट हासिल गरेको नेतान्याहूको दलले सरकार गठन गर्न नसकेपछि राष्ट्रपति रेवेन रिभलिनले अन्य दललाई सरकार गठन गर्न आग्रह गर्ने समाचारमा जनाइएको छ ।

नेतान्याहूले आफ्नो प्रयास असफल भएपछि राष्ट्रपतिलाई जनादेश फिर्ता दिने मनस्थितिमा पुगेको आफ्ना निकटस्थहरुसँग बताएको समाचारमा जनाइएको छ ।