इक्यान शैक्षिक मेलाको स्टल बुकिङ सूरु

पोखरा, मंसिर १८ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले यही मंसिर २६ देखि २८ गतेसम्म आयोजना गरेको इक्यान शैक्षिक मेलाका सम्पूर्ण स्टल बुकिङ भएका छन् । इक्यानले मंगलबार स्टल बुकिङ खुलाएको थियो ।

मेलामा राखिने ७० वटा स्टलहरु बुकिङ खुलाएको केही समयमा नै बुकिङ सकिएको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । ‘स्टलहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइएको छ,’ उनले भने । इक्यान सदस्यहरुको हितलाई ख्याल गर्दै प्रति स्टल १० हजार रुपैयाँमा उपलब्ध गराएको उनले बताए ।

पेभेलियनमासहित मेलामा ७० वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक नसीव क्षेत्रीले जानकारी दिए । नाफा कमाउने भन्दा पनि सदस्य संस्थाहरुको हितमा मेला आयोजना गरिएकाले सस्तो शूल्कमा स्टल उपलब्ध गराएको उनले प्रष्ट्याए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको सचिव रुद्रप्रसाद अर्यालले बताए । ‘मेलाको तयारी तिब्र बनाइएको छ,’ उनले भने ।