आहा रारा गोल्डकप फागुन २२ देखि, १० टीम सहभागी हुने

पोखरा, माघ १९ ।
१८ औं संस्करणको आहा रारा गोल्ड कप फागुन २२ देखि हुने भएको छ । सहारा क्लव पोखराको आयोजनामा हुने प्रतियोगिता फागुन २२ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्न लागिएको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

प्रतियोगितामा १० टीम सहभागी हुनेछन् । राष्ट्रिय, अन्तराष्ट्रिय र मोफसलको टोलीले प्रतिश्पर्धा गर्ने क्लवका अध्यक्ष केशबहादुर थापाले जानकारी दिए । प्रतियोगितको पुरस्कार टुंगो लागेको छैन । अघिल्लो बर्षभन्दा केही राशी बढाउने बिषयमा आन्तरिक छलफल नटुंगिएका कारण पुरस्कार घोषणा नगरिएको थापाले बताए ।

अघिल्लो बर्ष बिजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार पुरस्कार पाएका थिए । १८ औं प्र्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार खर्च लाग्ने अनुमान छ भने १ करोड १८ लाख आम्दानीको अपेक्षा गरिएको छ ।

क्लवले गोल्ड कप आयोजना गरेरै बचत रकमबाट दोविल्लामा सहारा एकेडेमी सञ्चालन गरिरहेको । एकेडेमीमा १५ जिल्लाका २४ बालकहरु आश्रित छन् ।