आहा रारा गोल्डकप आजदेखि, सहारा र सुदुरपश्चिमबीच उद्घाटन खेल

पोखरा, माघ ९ ।
मोफसलको प्रतिष्ठित पोखराको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा दिउँसो साढे १ बजे प्रतियोगिताको उद्घाट हुनेछ । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्ने कार्यक्रम छ । उदघाटन खेलमा आयोजक सहारा क्लव पोखरा र सुदूरपश्चिम स्पोर्टिङ क्लव धनगढी बीच प्रतिश्पर्धा हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । आयोजक सहारा क्लवले आफ्नो बलियो टिम भएको दाबी गरेको छ । संकटा भने ए डिभिजन क्लवमा जुर्मुराउँदै गरेको टिम हो । यसअघि कमजोर बन्दै गएको संकटा पछिल्लो क्रममा भने सुधारिएको छ ।
क्लबले वर्क परमिट लिएका विदेशी खेलाडीलाई मात्रै प्रतियोगितामा खेल्न दिइने भएको छ । आयोजक सहारा क्लवले क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराएका विदेशी खेलाडीलाई वर्क परमिट नभएकै कारण नखेलाउने निर्णय गर्दै फिर्ता गरेको छ । संकटामा पनि विदेशी खेलाडी रहेको र उनीहरुको वर्क परमिट नभए खेल्न नपाउने बताइएको छ । खेल तालिका अनुसार पहिलो चरणको खेल अन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ कलवबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।
प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिष्पर्धा गर्ने क्लवले जनाएको छ । प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी पनि बढाईएको छ । प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुयार्याईएको छ । बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए । प्रतियोगिताको सर्वा्धिक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।