आहा रारा गोल्डकपको बिजेतालाई ७ लाख (हेर्नुस कोको भिड्दैछन्)

पोखरा, पुस २५ ।
आउदो माघ ९ देखि २० गतेसम्म हुने आहा रारा गोल्डकपको बिजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरी पुरस्कार राशी र सहभागी टीम सार्वजनिक गरेको हो । बिजेता टीमले ७ लाख १ हजार पाउनेछ भने उपबिजेतालाई ३ लाख ५१ हजार पुरस्कार छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यले आयोजना हुने प्रतियोगिता १६ औं संस्करणको हो । अघिल्लो बर्ष ५ लाख १ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा यस बर्ष २ लाख थप गरिएको हो । हरेक ३ वर्षमा राशी बृद्धि गर्ने योजनाअनुरुप यस वर्ष २ लाख बृद्धि गरिएको क्लवका अध्यक्ष केशव थापाले जानकारी दिए । उपबिजेताको राशीमा भने १ लाख रुपैयाँ बृद्धि गरेर ३ लाख ५१ हजार बनाइएको उनले बताए । उपबिजेतालाई प्रदान गरिने उक्त राशी सहारा क्लव अष्ट्रेलियाले प्रायोजन गर्नेछ ।
प्रतियोगितामा २ बिदेशी सहित १२ टीम सहभागी हुँदैछन् । प्रतियोगितामा युनाईटेड सिक्किम फुटवल क्लव भारत र उत्तर बरिन्धरा क्लव बंगलादेश बाहेक सबै नेपाली क्लवहरु छन् । आयोजक सहारा क्लव सहित मनाङ मस्र्याङदी, नेपाल एपिएफ, संकटा, त्रिभुवन आर्मी, नेपाल पुलिस, धरान फुटवल क्लव, सुदुरपश्चिम ११, थ्रिस्टार र रमपम झापा ११ ले प्रतिश्पर्धा गर्ने अध्यक्ष थापाले बताए ।
क्लवले प्रतियोगितामा सहभागि एक जना दर्शकलाई एक थान स्कुटर प्रदान गर्ने घोषणा गरेको छ । यसअघिसम्म सुनको सिक्का बाँडेको क्लवले प्रतियोगिताको रकमसँग दर्शक सम्मान पनि बढाएको हो । यसको प्रायोजन सहारा हङकङले गर्नेछ ।