आहा रारा गोल्डकपको तयारी सकियो, १० टीम सहभागी हुँदै

पोखरा, फागुन ८ ।
विहिबारदेखि हुने १७ औं संस्करणको आहा रारा गोल्डकपको तयारी सकिएको छ । मंगलबार पत्रकार सम्मेलन गरि आयोजक सहारा क्लवले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ ।

हिमश्री फुड्स प्रालीको उत्पादन रारा चाउचाउको प्रायोजनमा आहा रारा गोल्ड कप हुँदै आएको छ । यस वर्षको आहा रारा गोल्डकपमा पुरस्कार राशी पनि बढाईएको छ । विजेताले ८ लाख १ हजार र उपविजेता टोलीले ४ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर पाउने आयोजकले जनाएको छ । बेस्ट फाइभमा प्रत्येकलाई नगद १५ हजार ट्रफि र प्रमाण–पत्र प्रदान गरिनेछ भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार, ट्रफि र प्रमाणपत्र पाउनेछन् ।

सहभागि प्रत्येक क्लबलाई एक खेल खेले वापत अतिरिक्त प्रोत्साहन रकम दिने सहारा क्लवका अध्यक्ष केशव थापाले जानकारी दिए । प्रि–क्वाटर बिजेता टीमलाई २० हजार र पराजीतले १० हजार, क्वाटर फाइनल बिजेताले ३० हजार र उपविजेताले २० हजार, सेमिफाइनल विजेता र उपविजेता दुवै टोलिलाई ५० हजार प्रोत्साहन स्वरुप उपलब्ध गराईनेछ ।

साथै प्रतियोगितामा सहभागि टिमको दैनिक भत्ता र दुई तर्फी यातायात खर्च आयोजक संस्थाले बेहोर्नेछ । टिकट काटेर खेल हेर्न आएका दर्शकलाई विगतका वर्षहरुमा झैँ एक लाख रुपैयाँ बराबरको चाउचाउ निशूल्क वितरण हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा गेट टिकट प्रत्येक प्रि–क्वाटरका खेलहरुको ८० रुपैयाँ, क्वाटर फाइनलको १००, सेमिफाईनल १५० र फाईनल खेलको २०० रुपैयाँ तोकिएको छ । गत वर्ष देखि राष्ट्रिय स्तरका खेलाडीहरु मध्येबाट सम्मानित गर्ने निर्णय भए अनुसार २०७४ साल भरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीलाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ मा ३५ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने कार्यक्रम पनि छ ।

क्लवले टुर्नामेण्टबाट बचेको रकम सहारा एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा विभिन्न १६ जिल्लाका २८ जना कठिन परिस्थितिका बालकहरु आश्रित छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक साहरा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच हुनेछ ।

प्रतियोगितामा आयोजक र एपिएफ सहित मनाङ मस्र्याङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब सुनसरी, युनाईटेड सिक्किम भारत, थ्रिस्टार क्लब, धउफिन्स फेमिलि टिम फुटबल क्लब क्यामरुन र हिमालयन शेर्पा क्लब सहभागी हुनेछन् ।