आहा रारा गोल्डकपः आयोजक सहाराको बिजयी सुरुवात

पोखरा, फागुन २२ ।
ब्रिगेड ब्वाईज क्लवलाई ३–२ गोल अन्तरले पराजीत गरी आयोजक सहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रबेश गरेको छ । सहाराका लागि त्रिदेव गुरुङले २ गोल र विदेशी खेलाडी सिवे वीरिचीले १ गोल गरे ।

ब्रिगेडका लागि राजेश परियार र बिजय गुरुङले गोल गरे । ५८ औं मिनेटमा ब्रिगेड ब्वाईजका लागि राजेश परियारले गोल गर्दै अग्रता लिएपनि ४ मिनेटपछि ६२ औं मिनेटमा सहाराका सिवेले गोल फर्काउँदै बराबरी बनाए । ६३ औं मिनेटमै ब्रिगेडका बिजय गुरुङले अर्को गोल थप्दै २–१ को अग्रता दिलाए । ७९ औं मिनेटमा सहाराले गोल फर्काउँदै बराबरी बनाएपछि निर्धारित ९० मिनेटको खेलमा थप गोल हुन सकेन ।

निर्धारित समयमा २ गोलको बराबरी खेलेपछि १५ मिनेट थप गरिएकोमा १०० औं मिनेटमा सहाराले नतिजा आफ्नो पक्षमा पारेको हो । सहाराका लागि त्रिदेवले गोल थपेका थिए । सहाराले ६ जना खेलाडी डेब्यु गराएको थियो । आफ्नै एकेडेमीका खेलाडीलाई पहिलो पटक प्रतियोगितामा भित्र्याएको आयोजकले जनाएको छ ।

गोल रहित बराबरीमा सकिएको पहिलो हाफमा सहाराका डेब्यु खेलाडी जीवन रायमाझी दुई एल्लो कार्ड सहित बाहिरिएपछि आयोजक १० खेलाडीमा समेटिएको थियो । यद्यपी होम ग्राउण्डको फाईदा लिँदै आयोजकले पहिलो खेल आफ्नो पोल्टामै पार्न सफल भयो ।

क्लवले यो बर्षको उत्कृष्ट खेलाडीको रुपमा सुजल श्रेष्ठलाई नगद ३५ हजार सहित सम्मान गरेको छ भने जिल्ला खेलकुद विकास समितिलाई ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । प्रतियोगितामा १० टीम सहभागी छन् । उपाधी विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार नगद पुरस्कार पाउनेछन् ।