आलोपालो प्रधानन्यायधीश

काठमाडौं, चैत्र १ ।
गोपाल पराजुली पदमुक्त भएपछि आजैदेखि दीपकराज जोशी नेपालको कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । अब संवैधानिक परिषदले बरिष्ठताका आधारमा उनैलाई प्रधानन्यायाधीश बनायो भने जोशीले आगामी १९ महिना २४ दिनसम्म सर्वोच्च अदालतको नेतृत्व गर्न पाउने छन् ।
वि.सं. २०११ साल असोज २४ गते जन्मेका जोशीको ६५ वर्षे उमेर हद ०७६ साल असोज २४ गते सकिनेछ ।
संविधानअनुसार संवैधानिक परिषदले ज्येष्ठ न्यायाधीशलाई नै प्रधान न्यायाधीश बनाउनुपर्छ भन्ने बाध्यता छैन । तर, अहिलेसम्मको परम्परा ज्येष्ठ न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने रहेको छ । बरिष्ठतालाई मिचिएन भने दीपकराज जोशीको अवकाशपछि चोलेन्द्र समेशर राणा नेपालको प्रधानन्यायाधीश बन्नेछन् । चोलेन्द्रले सन् २०२२ डिसेम्बर १३ सम्म प्रधानन्यायाधीश बन्न पाउनेछन् । बरियताका आधारमा चोलेन्द्रभन्दा अगाडि रहेका बरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले भने प्रधानन्यायाधीश नहुँदै उमेर हदका कारण अवकाश पाउने छन् । किनभने ओमप्रकाश दीपकराज भन्दा १० महिना जेठा हुन् ।
चोलेन्द्र प्रधानन्यायाधीश रहेकैबेला न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र मीरा खड्का उमेर हदका कारण रिङ आउट हुनेछन् । र, राणापछि एकैचोटि हरिकृष्ण कार्कीको प्रधानन्यायाधीश बन्ने पालो आउने छन् २०२० सिसेम्बर १३ मा ।

को हुन् दीपकराज जोशी ?
एक छोरा र छोरीका पिता रहेका जोशी स्थायी घर काठमाडौंको धुम्बाराही हो । उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्नुका साथै त्रिवि कीर्तिपुरबाट राजनीति शास्त्रमा एमए अध्ययन गरेका छन् ।
उनी सन् २०१४ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । जोशी सन् १९९१ मा पुनरावेदन अदालतको न्यायाधीश बने । जनकपुरबाट शुरु भएको उनको अदालतीयात्रा हेटौंडा, इलाम, तुलसीपुर, बुटवल, राजविराज, धनकु्टा र पाटन हुँदै जुम्ला आइपुगेपछि सन् २००८ मा मुख्य न्यायाधीशको रुपमा उक्लियो । एक वर्ष जुम्ला बसेपछि उनी अर्को एक वर्ष दिपायलमा कार्यरत रहेपछि पुनरावेदनको मुख्य न्यायाधीशको रुपमा थप दुई वर्ष त्यहीँ रहे । दिपायलपछि उनी पुनरावेदन अदालत सुर्खेतको मुख्य न्यायाधीश रहेकैबेला सन् २०१४ बाट सर्वोच्च अदालतको न्यायाधीश बनेका हुन् ।
न्यायाधीश बन्नुपूर्व उनले ११ वर्ष कानुन व्यवसायीका रुपमा वकालत गरेका थिए । जोशी नेपाली कांग्रेस समर्थित डेमोक्रेटिक लयर एशोसिएसनका संस्थापक सचिव हुन् ।
उनले बिभिन्न संस्थामा ७ वर्ष कानुनी सल्लाहकारको रुपमा काम गरिसकेका छन् । जोशीले ७ वर्ष नेपाल ल क्याम्पसमा र दुई वर्ष पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनसमेत गरेका छन् । उनी नेपाल ल क्याम्पसका विधिशास्त्रका प्राध्यापक थिए ।