आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक–मन्त्री थापा

पोखरा, असोज ७ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औं साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले देशको आर्थिक समृद्धिका लागि अर्थतन्त्र बलियो हुनुपर्ने बताए । त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउँदै पुँजी निर्माणतर्फ अग्रसर हुन ब्यवसायीहरुलाई थापाको आग्रह छ ।
निजी क्षेत्रको सहयोगले मात्र देशको अर्थतन्त्र वलियो हुनेमा जोड दिदै मन्त्री थापाले स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्न सके गरिवीको चपेटाबाट छिट्टै मुक्त हुने उल्लेख गरे । पोखरा प्रादेशिक राजधानी बन्दै गर्दा आवश्यक संरचना निर्माणका लागि तयारी थाल्न उनको आग्रह छ । ‘अन्तराष्ट्रिय सम्मेलन केन्द्र, विमानस्थल तत्काल निर्माण गर्नुपर्छ, उनले भने–त्यसका लागि सरकार तयार छ । हामी पनि घचघच्याउँछौं ।’ उनले पोखरा २६ को सिलिङ बगैंचामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न र गगनगौडामा क्षेत्रिय स्तरको वसपार्क निर्माण गर्न सरकारको तर्फबाट सक्दो पहल भएको बताए ।
कार्यक्रममा पुर्व जनसंख्या तथा स्वास्थ्यमन्त्री खगराज अधिकारीले अव राजनितीक क्रान्ति सकिएकाले आर्थिक क्रान्तिका लागि निजी क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताए । उनले स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गरि बिदेशिने युवाहरुलाई देशमा नै रोजगारी दिन तयार हुनुपर्ने उनको सुझाव थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ नगर क्षेत्रको विकासका लागि संघको तर्फबाट ईलाका प्रशासन कार्यालय, नापी तथा मालपोत र सुरक्षाका सवालमा आवज उठाएकाले र भविष्यमा प्रदेशको मुख्य केन्द्र पनि लेखनाथमा हुनुपर्ने बताए ।
सोही अवसरमा लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको पत्रकार कल्याण कोषमा संघको तर्फबाट ११हजार एक सय ११ रुपियाँ वरावरको चेक मञ्चका अध्यक्ष भीमपाणि बराललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले हस्तान्तरण गरेका थिए ।