आमाबुबा गुमाएका छोरीहरुलाई विदेशमा बस्ने नेपालीको सहयोग

 

पोखरा, माघ २८ ।

आमा बुबा दुवै गुमाएका दुई छोरीहरुलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् ।

नेपालगञ्जका सीता बस्नेतले तीन वर्ष अघि जण्डिसका कारण श्रीमानको मृत्यु भएपछि घरपरिवारको सहयोग नपाएर र दुई छोरी लिएर पोखरा महानगरपालिका वडा नं १७ बेलघारी माइतीको शरणमा आएकी थिईन् । बस्नेतको पनि पेटमा समस्या देखिए पछि मनिपाल अस्पतालमा उपचारको क्रममा पुस १० गते निधन भएपछि दुई छोरीहरु अभिभावक गुमाउनुको पीडामा रहेका छन् ।

आमाका निधन पछि सेतो वस्त्र लगाएर १३ दिननै क्रिया बसेका १४ वर्षिय र ११ वर्षिय पुजा र पुष्पाको तस्बिर सामाजिक सञ्जालमा समेत निकै छाएको थियो । उनीहरुको कारुणीक तस्बिर र उनीहरुको कमजोर आर्थिक अवस्थाबारे थाहा पाएपछि डेनमार्कमा रहेका जाग्रीला के.सी र उनका श्रीमान अरविन के.सीले आफु र साथिहरुबाट एक लाख १७ हजार रुपैया संकलन गरेर नेपाल पठाएका हुन् । उक्त रकम उनका दिदि साग्रीला के.सीले उनीहरुले आश्रय लिइरहेको मावली घर पोखराको बेलघारीमा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरण गर्दै साग्रीला के.सीले भनिन्, “अभिभावक गुमाउनुको पीडा र त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारणले उनीहरुको भविष्य नबिग्रियोस् भनेर सहयोगमा जुटेका हौ ।” उनले डेनमार्कबाट बहिनी ज्वाँईले संकलन गरेर पठाएको रकममा ३ हजार थपेर एक लाख २० हजार हस्तान्तरण गरेको बताइन् ।

त्यसै गरि नेदल्याण्ड बस्ने मिना र कुश बजागाँइले पनि आफूहरु र साथिभाइबाट संकलित १ लाख ६४ हजार रकमको चेक हस्तान्तरण गरेका छन् । “आर्थिक अवस्था निकै कमजोर रहेछ, आश्रय लिएर बसिरहेको मामाको घर पनि सानो भएकाले उनीहरुको लागि छुट्टै कोठा बनाउन समेत पहल भएको रहेछ, यसको निर्माणमा सहयोग होस् भनेर रकम संकलन गरेर हस्तान्तरण गरेका हौ ।” उनले अभिभावक गुमाएका पुजा र पुष्पाको मनोबल कमजोर हुन नदिन उनीहरुको सम्पर्कमा निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

चेक ग्रहण गर्दै पुजाले आफुहरुलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मन प्रति आभार व्यक्त गरिन् । उनले आफू पढेर नर्स बन्ने लक्ष्य राखेको बताइन् । त्यसैगरी पुष्पाले आफु इन्जिनियर बन्ने लक्ष्य रहेको सुनाइन् । दुवै जनाले भविष्यमा सामाजिक क्षेत्रमा समेत सक्रिय रहने चाहाना व्यक्त गरे ।

हजुरबुबा रामबहादुर अधिकारीलले नातिनीहरुको नाममा संकलित करिब ६ लाख रकमलाई टोलविकास समितिको अध्यक्षको रोहबरमा बैंकमा राखिएको र उनीहरु १८ वर्ष पुगेपछि मात्र भोगचलन गर्न पाउने गरि जम्मा गरिदिएको बताए । उनले भने “धेरै थोरै सहयोग रकम आइरहेको छ, अहिले सानो घरमा बसेका छौ, नातिनीहरुलाई पढ्न लेख्न र बस्न सजिलो होस् भनेर पछाडि उनीहरुका लागि एउटा कोठा बनाउँदैछौ । सहयोग गर्नेहरु प्रति आभारी छौ ।” सहयोगीमनहरुको साथ र सहयोगले नातिनीहरुलाई ऊर्जा मिल्ने र भविष्यमा पढ्न चाहेको विषय पढेर आफ्नो भविष्य बनाउन सक्ने विश्वास उनले व्यक्त गरे ।