आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

 

काठमाडौं, कार्तिक २१ ।

राष्ट्रिय मानवअधिकार आयोगले यही कात्तिक २६ गतेदेखि काठमाडौंमा हुने ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ ।

बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगले सम्मेलनमा मानव अधिकारका लागि विश्वव्यापी सञ्जालका प्रमुख, केन्या, मलेसिया, माल्दिभ्स, मंगोलिया, दक्षिण अफ्रिकाका मानव अधिकार आयोगका प्रमुखहरु उपस्थित हुने जनाएको छ ।

यस्तै, सम्मेलनमा कतारका मानवअधिकार आयोगका उपाध्यक्ष, बंगलादेश, भारत, थाइल्यान्डलगायतका देशका मानवअधिकार संस्थाका आयुक्तहरु, सरकारी, गैरसरकारी निकाय, नागरिक समाजलगायतका ६२ जना अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोगका सदस्य सुदीप पाठकले बताए ।

उनले सम्मेलनमा साउदी अरब, कुबेत, बहराइनलगायतका खाडी मुलुकहरुबाट पनि प्रतिनिधिहरु सहभागी हुने निश्चित रहेको जानकारी दिए ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत विभिन्न सरकारी निकाय, वैदेशिक रोजगार व्यवसायी संघ तथा विज्ञहरुसहित ४५ जना राष्ट्रिय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने पाठकको भनाइ छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षण, व्यवस्थापन, प्रशासन तथा अनियमित आप्रवासन एवं मानव बेचविखनका समस्यालगायतका विषयमा छलफल हुने उनले बताए ।

सदस्य पाठकले आप्रवासी कामदारहरुको समस्या समाधान गर्न सरकार, मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय जगत र मानवअधिकारको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु मिलेर काम गर्न आवश्यक रहेको बताए ।

उनले वैदेशिक रोजगारमा पठाउने मुलुक, जाने देश र काम गर्ने मुलुक सबै स्थानमा समस्या भएको बताउँदै सम्मेलनबाट त्यस्ता समस्याहरु समाधान गर्न सकिने मूल लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।(ईमेजखबरबाट साभार)