आईसिएन बडिबिल्डिङ्मा पोखराका सुजनलाई दुई स्वर्ण

 

पोखरा, असोज ३० ।

अष्टेलियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्ण पदक जितेका छन् । हाल अष्टेलियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका शिल्पकारले त्यहाँको कण्ट्रि क्लवको प्रतिनिधित्व गर्दै फिजिक क्याटागोरी (शरिर रचना बिधा) र नवप्रवेशि समुहमा स्वर्णपदक जितेका हुन् ।

स्वर्ण पदक हात पारेपछि सुजनले यही अक्टोवर २६ र २७ मा मेलवर्नमा हुने आईसिएन विश्व च्याम्पियनसिपमा भाग लिन पाउने भएका छन् ।

सफलता पछि उनले अष्ट्रेलियामा आफुले गरेको मिहिनेतको फल मिलेको प्रतिक्रिया दिएका छन् । यो सफलताले आफुलाई अझै उत्साह थपेको बताउँदै उनले आउँदा दिनमा विश्व मञ्चमा प्रवेश गर्ने बाटो खुलेको बताए ।

उनले स्वर्ण जितेपछि अष्टेलियामा बस्ने नेपाली समुदायले खुशी व्यक्त गरेका छन् । आउँदो प्रतिष्पर्धाको लागि शुभकामना दिँदै उनीहरुले विश्व च्याम्पियनमा सुजनको प्रदर्शन हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।