अस्पतालबाटै सरकार र पार्टी चलाउँदै प्रम ओली

काठमाण्डौं, मंसिर १८ ।
आज मंसिर १८ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा १३ औँ दक्षिण एसियाली खेलकुदका समाचारहरुले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि समाचारहरु प्रकाशित छन् ।

कान्तिपुर दैनिकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने समाचार छ । अघिल्लो मङ्गलबार आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौल प्रत्यारोपणको समय धकेलिएको चिकित्सकले बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने । एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो ।

पत्रिकामा अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री शीर्षकमा समाचार पनि छ । प्रधानमन्त्री बिरामी भएकै कारण सरकारले गर्नै पर्ने काम नरोकिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । ‘सरकारको काम चलिरहेको छ, प्रधानमन्त्रीज्यूले हस्ताक्षर नै गर्नुपर्ने काम तत्काल केही छैनन्,’ उनले भने, ‘आवश्यक विषयमा सचिवालय र सल्लाहकार मार्फत समन्वय भइरहेको छ ।’ उनले मन्त्रीहरुको तहमा गर्नुपर्ने संयोजन उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र प्रशासनिक तहमा गर्नुपर्ने समन्वय मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत भइरहेको जानकारी दिए ।