अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै

काठमाण्डौं, साउन १३ ।
एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए । पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो ।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए ।

अस्पतालमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने । उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द हुनुपर्छ। प्राविधिकले उपकरण चलाउन नसक्ने र कर्मचारीले बिगार्ने हो भने पब्लिक प्राइभेट पार्टनरसिपमा जान सक्छौं । ’ जनताको करले सञ्चालित अस्पतालको सम्मान गर्न स्वास्थ्यमन्त्री यादवले आग्रह गरे ।

मुलुकको ऐतिहासिक अस्पतालले १३० औं वार्षिकोत्सवको मनाइरहेका बेला सेवाग्राहीको असन्तुष्टि मन्त्री यादवको भन्दा बढी छ । अस्पतालले २४ घण्टे फार्मेसी सेवा उपलब्ध गराउन सकेको छैन ।

अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरी भन्छन, ‘ ज्यामितीय रूपमा सेवाग्राही बढेका छन् । सेवासुविधा तथा उपकरण थप्ने प्रयास गरेको छु ।’

१९४७ साउन १२ गते १५ शड्ढयाबाट अस्पतालले सेवा सुरु गरेको थियो । २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्तरोन्नति भएको थियो। उपचार र दक्ष जनशक्ति उत्पादनमा योगदान गरिरहेको जेठो अस्पताल न्यून पूर्वाधार, दक्ष जनशक्ति पलायन र उपकरण अभावले थलिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।