असोज १० देखि नयाँ नोट वितरण हुने, एक जनाले १८ हजार ५ सयको मात्रै साट्न पाउने

 

काठमाडौं, असोज ३ ।

यसवर्षको दशैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो ।

नयाँ नोट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ १र१ प्याकेट गरी जम्मा १८ हजार ५ सय रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ । यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । यसअघि गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो ।

राष्ट्र बैंकले आफ्ना क्षेत्रीय कार्यालय तथा सरकारी वाणिज्य बैंकहरुबाट समेत सर्वसाधारणले सटही सुविधा पाउने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

उनका अनुसार नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्काभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउनेछन् ।

उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ ।

नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैर कानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको हो ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी र्पुयाए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । (अनलाइनखबरबाट साभार)