असारको १ गतेदेखि स्नूकर प्रतियोगिता

पोखरा, जेठ ४ ।

असारको १ गतेदेखि पोखरामा कास्की जिल्लास्तरिय पाँचौ खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला बिलियार्ड स्नूकर तथा पुल संघको आयोजनामा असारको ८ गतेसम्म प्रतियोगिता हुने संघले जनाएको छ। कास्की जिल्ला बिलियार्ड स्नूकर तथा पुल संघमा आबद्ध क्लवहरुबाट मात्र प्रतियोगीहरुले सहभागिता जनाउन पाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार २५ हजार र तृतीय पुरस्कार १० हजार नगद तथा शिल्ड र प्रमाणपत्र रहेको जनाइएको छ। त्यसैगरी, प्रतियोगितामा ३० ओभरको ब्रेकर पुरस्कार ५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र र स्ट्रिक रहेको छ।

नयाँ स्नूकर तथा पुलका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष दिलिप साईले जनाए। ०५१ मा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघभित्र हाल कास्की जिल्लाको ३३ वटा बिलियार्ड तथा पुल क्लबहरु आबद्ध रहेको अध्यक्ष साईले बताए। प्रतियोगितामा करिव २ सय जना खेलाडीहरुले सहभागिता जनाउने संघका सचिव सविन जिसीले बताए। संघमा आबद्ध ३३ वटा क्लबहरुमध्येबाट न्यूनतम ३ देखि ५ जनासम्मका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव जिसीको भनाई छ। पोखराको बास्तोलाथरस्थित पोखरा क्लबमा प्रतियोगिताको उद्घाटन र समापन गरिने आयोजकले बताएको छ। आयोजक संघका अनुसार प्रतियोगिता सञ्चालन गर्न सहयोगी संस्थाहरुबाट करिव २ लाख ९० हजार आम्दानी र २ लाख ७० हजार अनुमानित खर्च लाग्नेछ। प्रतियोगिता सम्पन्न गर्न ५ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ।

पोखरा लेखनाथ क्षेत्रमा करिव १ सय स्नूकर तथा पुल क्लबहरु रहेको अध्यक्ष साईले बताए। संघमा आबद्ध नभई सञ्चालनमा आएका करिव दुई तिहाई पुल क्लबहरुलाई क्रमशः संघमा भित्राउने प्रयास जारी रहेको जनाए। १५ औं शताब्दीदेखि बेलायतबाट बिलियार्ड तथा स्नूकर खेल शुरु भएको मानिन्छ। तत्कालीन बेलायती राजपरिवार र उच्च घरानाका ब्यक्तिहरुले यस खेललाई मनोरञ्जनका रुपमा शुरुवात गरेको पाइन्छ। राणा शासनका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा एक बर्ष बेलायत बस्दा त्यहाँ विलियार्ड पुल खेलेर उनले नेपालमा यस खेललाई भित्राएको खेल इतिहाँसमा भेटिन्छ। नेपालमा उच्च घराना, उद्योगी, व्यापारी सेना प्रहरीका उच्च पदस्थ व्यक्तिहरुले हालसम्म पनि यस खेललाई निरन्तरता दिएको पाइन्छ।