अव पोखरा–जनकपुर जहाज चलाउछौंः मुख्यमन्त्री राउत

पोखरा, भदौ २४
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ४ नम्बर प्रदेशको राजधानी पोखरा र २ नं. प्रदेशको राजधानी जनकपुर जोड्ने पहल गर्ने बताए । प्रदेशका मुख्य मन्त्रीहरुको पोखरामा आयोजित भेलामा सहभागी भएका मुख्यमन्त्री राउतले तराई सेवा समाज पोखराद्धारा आयोजित स्वागत कार्यक्रममा शनिवार पोखरा र जनकपुर जोड्ने बताए ।

तराई मधेशबाट पोखरा आई बसोवास गर्नेहरुको साझा संस्था तराई सेवा समाज पोखराद्धारा शनिवार पोखरामा आयोजित स्वागत कार्यक्रममा मुख्य मन्त्री राउतले समृद्धिको अत्यन्तै संभावना रहेको दुई राजधानी पोखरा र जनकपुरलाई हवाई मार्ग, सँस्कृति र पर्यटनको माध्यमबाट जोड्ने बताए । पोखरा—जनकपुर जोड्नका लागि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र यस प्रदेशका सँस्कृति, पर्यटन मन्त्री विकास लम्सालसँग छलफल समेत अघि बढेको जानकारी दिए ।

समृद्ध प्रदेशका लागि दुई प्रदेश जोड्नुपर्नेमा जोड दिनुहुदै आफु तराई मधेश समृद्धि अभियानको जुटेको उनको भनाई थियो । मधेशलाई हिजो कसले विभेद गर्यो, कसले पछि पार्यो, किन हेपियो भन्ने सबैलाई थाहा छ दबियौं भन्दै भन्नु भन्दा अब समृद्ध प्रदेश कसरी बनाउन सकिन्छ सबै जुट्ने बेला आएको उनले बताए ।

हाम्रो लागि अहिले चुनौति र अवसर दुवै भए पनि प्रदेश समृद्ध गर्न सकेनौ भने प्रदेश सरकार मात्रै नभई तराई मधेशबासीले असफल हुने मुख्य मन्त्री राउतले बताए । संघीय सरकारले आवाश्यक बजेट प्रदान गर्नु, सहयोग गर्नुको सट्टा प्रदेश सरकारको हातखुट्टा बाँध्ने प्रयास गरे पनि समृद्धि लक्ष्यका लागि प्रदेशबासी र प्रदेशभन्दा बहिर बसोवास गर्ने २ नं. प्रदेशका जनसमुदायको साथले आफु अघि बढिरहेको उनको भनाई थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्नुहुने डा.रामजीवन यादवले २ नं. प्रदेशको समृद्धिका लागि विभिन्न योजनाहरु प्रस्तुत गरे । कार्यक्रममा संघीय समाजवादी फोरम प्रदेश नं. ४ तमुवान—मगराँत अध्यक्ष दीपक तामाङले शुभकामना व्यक्त गरे ।