अवैध कल बढ्दो, दिनहुँ आउँछ उजुरी

काठमाण्डौं, मंसिर १९ ।
पछिल्ला केही दिनयता भाइबर, स्काइप, ह्वाट्स एपलगायतका ओटिटी सेवाबाट नेपालमा अवैध कल आउने क्रम बढेको छ । नम्बर नै नदेखिने ‘अननाउन’, ‘नो कलर’लगायत विदेशी मोबाइल नम्बरबाट नेपालका मोबाइल प्रयोगकर्ताको नम्बरमा फोन गरी धम्की दिने, फिरौती माग्ने, चिट्ठा परेको भन्दै झुटो प्रलोभन देखाएर रकम असुल्नेजस्ता आपराधिक गतिविधि बढ्न थालेको छ ।
विभिन्न विदेशी नम्बरहरूबाट कल गर्ने र चिट्ठा परेको छ भन्दै रकम जम्मा गर्न लगाएर ठगी भएको उजुरी धेरै आउने गरेको नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए ।
सिआइबीले सार्वजनिक सूचना प्रकाशन गरेरै त्यसरी कल गर्नेहरूको भ्रममा नपर्न आग्रह गरेको छ । टेकुस्थित महानगरीय अपराध महाशाखाका अनुसार औसतमा दैनिक ४–५ वटा अवैध कलबाट ठगिएका उजुरीहरू आउने क्रम चलिरहेको छ ।
‘आफूले कुनै पनि किसिमको चिट्ठा काटेकै छैन भन्ने थाहा हुँदाहुँदै चिट्ठा परेको भन्दा विश्वास गरिहाल्ने भएकाले मानिसहरू ठगीमा पर्ने गरेका छन्,’ सिआइबीका प्रवक्ता श्रेष्ठले भने, ‘त्यसरी भ्रममा परेर पैसा नै पठाउँदा पीडितहरूकै समेत कमजोरी देखिने गरेको छ ।’
नयाँ पत्रिका