अवदेखि खोलामा लाश पोलिँदैनन्

प्रकाश ढकाल
पोखरा, पुस २२ ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी गएको दिन उतै वित्थ्यो, स्थानीय दुर्गाबहादुर क्षेत्रीले भने–खोलो बढ्दा अर्को टण्टो थपिन्थ्यो र खहरे नघटेसम्म लास घरमै राख्थ्यौं ।’ त्यहाँका स्थानीयले मर्दी खोलामा अन्तिम संस्कार गर्छन् । जुन खोलो पोखरा महानगरका बासिन्दाको पानी खाने मुहान हो । मुहानमै दाहसंस्कार गर्दा धेरैले पानी दुर्गन्धित बनेको गुनासो धेरै ठाउँमा सुनाउँथे । ‘खोलामै गरिन्थ्यो दाहसंस्कार । मान्छे पोलेपछि सरसफाई गर्नैप¥यो । त्यो सबै फोहोर खोलामा बगाउने हाम्रो चलन हो, अर्का स्थानीय टेकबहादुर श्रेष्ठ भन्छन्–पोखरेलीले पिउने पानीमाथी हामीले दुर्गन्ध फाल्दा कहिलेकाहीँ त मनै कुँडिन्थ्यो । तर विकल्प थिएन । बाध्य भएर फोहोर फाल्थ्यौं ।’
आधुनिक शवदहन स्थल बनेपछि स्थानीयलाई सजिलो भएको छ । खानेपानीका उपभोक्ता पनि शुद्ध पानी पाउने खुशीयालीमा छन् । पोखरा उद्योग बाणिज्य संघले महानगर र खानेपानी संस्थानसँगको समन्वयमा मर्दी किनारमा शवदहन स्थल निर्माण गरिदिएको हो । सिदिङमा १५० घरपरिवार छन् । सैतीघट्टमा २ सय र खोराकोमुखमा ३ सय घरपरिवार छन् । विशेष गरी ब्राह्मण, क्षत्री, तामाङ, गुरुङ, मगर र दलित समुदायका मानिस यो ठाउँमा बस्दै आएका छन् । संस्कार अनुसार भाग लगाउँदा पनि कम्तिमा ३ वटा चुलो शवदहन स्थलमा बनाउनुपर्ने स्थानीयको सुझाव छ । ‘धेरै जातिका मानिस यो ठाउँमा बस्छन् । उनीहरुको अन्तिम संस्कार फरक फरक छ, स्थानीय भन्छन्–संस्कार पनि मान्नैप¥यो । ३ वटा चुलो भएको भए एड्जस्ट गर्न सकिन्थ्यो ।’
शवदहनस्थल निर्माण गर्न स्थानीय व्यक्तिहरुले भूमिदान गरेका छन् । भूमिदानपछि उद्योग वाणिज्य संघले शवदहनस्थल निर्माण प्रक्रिया अगाडि बढाएको थियो । तीन वटा ठाँउमा एकैपटक दुई शव दहन गर्न मिल्ने स्थल बनाइएको छ । दहनपछि सरसफाईको लागि पानीको व्यवस्था समेत गरिएको छ । आवश्यक शौचालय तथा शवदहन गर्दा मलामीलाई बस्नका लागि टहरा समेत बनाईएको छ । शवदहनस्थल बनेपछि महानगरबासीले उपयोग गर्ने मर्दीखोलाको पानी प्रदुषित नहुने उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । पोखरा खानेपानी शुद्धिकरण कार्यक्रम अन्तर्गत माछापुच्छ«े गाउँपालिकाका विभिन्न वडामा ३ वटा शवदहनस्थल निर्माण गरिएको छ । यसलाई बढाएर ८ वटा पु¥याउने लक्ष्य राखिएको उनको भनाई छ । ‘सैँतीघट्ट, सिदिङ र खोरामुखमा तत्कालका लागि ३ वटा शवदहन स्थल बनाएका छौं । हाम्रो योजना ८ वटा बनाउने हो, उनले भने–केही महिनाभित्रै बाँकी काम पनि पूरा गर्छौं । पोखरेलीलाई शुद्ध पानी पिउन पाउने अधिकार स्थापित गर्ने योजनामा लागिरहेका छौं ।’ पोखराको पानी शुद्धीकरण गर्नका लागि जापान सरकारबाट फिल्टर प्लाण्ट निर्माणको योजनामा पनि अहिले प्रारम्भीक काम भैरहेको छ ।
निर्माण गरिएको शवदहनस्थल शुक्रबार एक समारोह बीच स्थानीयबासिन्दालाई हस्तान्तरण गरिएको छ । कास्की क्षेत्र नम्बर ३ प्रदेश (क) का सांसद रामजीप्रसाद बराल, पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल, नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख निरन महर्जन लगायतले शवदहनस्थल उपभोक्ता समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । उद्योग वाणिज्य संघका सदस्य एवं शवदहनस्थल निर्माण समितिका सहसंयोजक कमल बस्नेतका अनुसार ल्वाङ, रिभान, धिताल, लाहाचोक र सेती मर्दी दोभानमा गरी पाँचवटा शवदहनस्थल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । प्रत्येक शवदहनस्थल निर्माणको लागि श्रमदान बाहेक १० लाख ४२ हजार रुपैयाँ लागत खर्च भएको पोखरा उद्योग वाणिज्य संघका सदस्य एवं शवदहनस्थल निर्माण समिति संयोजक यदु अधिकारीले जानकारी दिए । समग्र खर्चमध्ये ंमहानगरपालिकाले ५० प्रतिशत, खानेपानी संस्थानले ४० प्रतिशत र पोखरा उद्योग वाणिज्य संघले १० प्रतिशत आर्थिक भाग लगाएका छन् । शवदहनस्थलमा सोलार बत्ती समेत जडान गर्ने तयारी भैरहेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।