अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा सांसदहरुले लगाए नाराबाजी

 

एजेन्सी, कार्तिक ७ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा रिपब्लिकन सांसदहरुले अवरोध गरेका छन् ।

संसदीय समितिले युक्रेन सम्बन्धी अमेरिकी रणनीतिका एक जना जानकार लौरा कूपरसँग बयान लिइरहेका बेला रिपब्लिकन सांसदले नाराबाजी तथा हुलहुज्जत गरेका हुन् ।

कूपर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारी हुन् । संसदीय समितिमा डेमोक्र्याट तथा रिपब्लिकन दुवै पार्टीका सांसद छन् ।

समिति बाहिर उपस्थित भएका रिपब्लीकन सांसदहरुले आफुहरुलाई पनि बयान कक्षमा उपस्थित हुन दिनुपर्ने भन्दै नाराबाजी र हुलहुज्जत गरेको जनाइएको छ ।

अमेरिकी तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा छानबिन गरिरहेको छ ।

सोही क्रममा यसअघि एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शर्तसहित सैन्य सहयोग उपलब्ध गराएको स्विकारेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टरमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।