अमेरिका सपना–७५ लाख डुबाएर १७ महिना जेल

काठमाण्डौं, जेठ ३२ ।
अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ । मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन् । उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो । पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो । भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो । त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो ।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो । मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे । जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो । नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए । उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ ।

जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन् । गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो । केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए । नयाँ पत्रिकामा खबर छ ।