अमेरिकामा गोली हानी एक नेपालीको हत्या, एक घाईते

एजेन्सी, असोज ६ ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो ।

अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । सोही घटनामा सण्डे अगुडा र हेलेन रेइसको भने मृत्यु भएको छ ।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार बिहान ९ बजे गोली प्रहार गर्दा गिरीको मृत्यु भएको पुष्टि गरेका छन् । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दा तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।