अमेरिकाको संसदमा नेपाली छोरो, वेद हातमा राखेर लिए सपथ

एजेन्सी, पुस २७ ।
अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् ।

मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन् । शपथग्रहण पश्चात भण्डारीले भने, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु ।”

अमेरिकामा करिव तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब छ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वा्चित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बनेका छन् । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् ।

भण्डारीले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका छन् । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ ।

भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए ।