अब मोटरसाइकलको पछाडी बस्नेले पनि हेल्मेट लगाउनुपर्ने

काठमाण्डौं, जेठ ५ ।
केही वर्ष अघि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था थियो । काठमाण्डौ, पोखरा लगायतका शहरमा बाइकमा यात्रा गर्दा हेल्मेट लगाउनुपथ्र्यो । तर, पछि यो नियम हट्यो । अब फेरि सोही नियम लागू हुने भएको छ ।

तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेकोले पछाडी बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेर यातायात व्यवस्था ऐन २,३ महिनामा स्वीकृत (पास) भएपछि करिव ६ महिना भित्रै यो नियम कार्यान्वयनमा आउने भएको छ ।

हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुनुपर्ने छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ । विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ ।

केही महिना अगाडि महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सघं र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको थियो ।