अपरिपक्व महानगर–आँफै भत्काएको शालिक पुर्नस्थापना गर्ने निर्णय

पोखरा, असोज १० ।
पछिल्ला दिनहरुमा पोखरामा गाडीको ओहोरदोहोर निकै बढेको छ । बिलासीताको रुपमा हेरिने निजी गाडी र बाध्यात्मक बनेको सार्वजनिक बस तथा मालबाहक गाडीहरु पोखरामा दिनहुँ थपिँदो छ । यसको चापले पोखरामा कहिलेकाहीँ निकै लामो जाम हुन थालेको छ ।
यसलाई कम गर्न पोखरा लेखनाथ महानगरपालिकाले मुख्य सडकका चोकहरुमा रहेका ठूला र भद्दा आईल्याण्डहरु हटाउने अभियान सुरु गरेको छ । अघिल्लो साता जीरोकिलोमिटरको आईल्याण्ड हटाएको महानगरले सोमबार राती पृथ्वीचोकको आईल्याण्डपनि साफ गर्यो । तर कुनै समुदायको विरोधका कारण राती हटाईएको शालिक पुनः प्रतिस्थापन गर्ने तयारी भएको छ ।
जनजाति समुदायबाट भएको चौतर्फी बिरोधपछि सोही ठाउँमा थप आकर्षक हुने गरी शालिक राखिने निर्णय भएको हो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङको विशेष पहलमा भएको वार्ताबाट १० बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका र नेपाल मगर संघ कास्कीबीच भएको त्रिपक्षीय सहमति अनुसार मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको नेतृत्वमा शहिद लखन थापाको शालिक निर्माण तथा पुर्नस्थापना समिति गठन गरिएको छ ।
सहमति अनुसार बुधबारदेखि नै निर्माण सुरु गरिने भएको छ । पहिलेकै ढाँचा र स्वरुपमा शालिक राख्ने र लखनचोकको केन्द्र भागमै पुनस्र्थापना गर्ने, शालिकको सुरक्षा जिल्ला प्रशासनले गर्ने, शालिक पुनस्र्थापना गर्न लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने सहमति पनि भएको हो । प्रशासनले रातारात शालिक रहेको आइल्याण्ड हटाउने कार्यले आमनागरिक र सर्वसाधारणमा पुग्न गएको भावनात्मक चोटप्रति महानगरपालिकाले क्षमायाचना समेत मागेको छ । महानगरपालिका सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक डिभिजन कार्यालय, पोखराले पोखराका आइल्याण्डहरूका कारण ट्राफिक जाम बढेको भन्दै हटाउने तयारी गरेको थियो ।
मगर संघ कास्कीसँग महानगरले आइल्याण्डको साइज सानो बनाएर प्रथम शहिदको शालिक राख्ने भन्नेमा सहमति गरेको थियो । तर, आइल्याण्ड पूरै हटाइएपछि मगर समुदाय आक्रोशित बनेका छन् । तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहको शालिक रहेको त्यस ठाउँमा ०६२÷०६३ को जनआन्दोलनका क्रममा माओवादीले पृथ्वीनारायणको शालिक भत्काइदिएका थिए । त्यसपछि खाली रहेको चोकमा मगर संघ कास्कीले ०६४ सालमा प्रथम शहिद लखन थापाको शालिक राखेको हो ।

तस्विर सौजन्यः जक्सन डटकम