अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा नेपालीलाई पनि शुल्क, विदेशी पर्यटकको शुल्क अत्यधिक बढ्यो

पोखरा, असोज ३० ।
अन्नपूर्ण संरक्षण क्षेत्र जाने पर्यटकलाई प्रवेश शुल्क बढेको छ । यसअघि नेपालीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सार्कभित्रका पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजार र सार्कबाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार पुर्याएको छ ।

सोमबार सूचना जारी गर्दै सरकारले प्रवेश शूल्क बढाएको हो । जसअनुसार अब ति प्रत्येक क्षेत्रमा जान नेपालीले पनि प्रवेश शूल्क तिर्नुपर्ने भएको छ । सरकारले अन्नपूर्ण सहित मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्कमा पनि भारी वृद्धि गरेको छ ।

पर्यटनबर्ष मनाउन लागेको बेला यसरी कर र शुल्क बढाएपछि पर्यटकलाई सास्ती हुने पर्यटन ब्यवसायी हरु बताउँछन् । कुनै पनि शूल्क बढाउदा कम्तिमा पनि ६ महिना पूर्व जानकारी दिनु पर्ने भए पनि सो समेत नगरेको उनीहरुको गुनासो छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले आफुहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा बढाईएको शुल्क फिर्ता लिन माग गरेका छन् । ‘निर्वाचित जनप्रतिनिधीलाई समेत नसोधी मनपरि शुल्क बढाउन पाईंदैन । एकतर्फी रुपमा बढेको शुल्कको विरुद्ध हामी आन्दोलन गर्छौं, उनले भने–शुल्क फिर्ता भएन भने एक्यापको कार्यालयमा ताला ठोक्दिन्छु । कार्यपालिका बैठक बसेर निर्णय गर्ने हो ।’ उनले अन्य गाउँपालिकाका अध्यक्षहरुसँग पनि कुरा भैरहेकोले संयुक्त कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन् ।