अन्नपूर्ण म्याराथनका धावक प्रस्थान, महोत्सवको तयारी पूरा

पोखरा, जेठ १५ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बिदाई गरे । खेल पर्यटनको विकास र विस्तार गर्न अन्नपूर्ण पदयात्रा मार्गमा हुन लागेका म्याराथनमा ७० धावक सहभागी हँुदै छन् । जुन थर्ड अर्थात् अन्नपूर्ण दिवसको सन्दर्भमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन जेठ २० गते विहान ६ः३० बजे अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुँदैछ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइने गरिन्छ ।

म्याराथुनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वाथ्यकर्मी जर्जसहित आवश्यक उपकरण एवं अन्य सामाग्रीको व्यवस्थापन पूरा भएको सहायक प्राविधिक निर्देशक कृष्णबहादुर वस्नेतले जानकारी दिए । म्याराथुनमा प्रथम हुने धावकले एक लाख र दोस्रो हुने धावकले ७० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था छ भने टपटेनसम्मका धावकलाई पनि सान्त्वना पुरस्कार दिइने छन् ।

महोत्सवको तेस्रो चरण अन्तर्गत जेठ १७ देखि २० गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । तेस्रो चरणको समुद्घाटन कार्यक्रम प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी महोत्सवको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने तयारी भएको महोत्सव मुल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बताए ।

अन्नपूर्ण पदयात्रा मार्गको प्रचाप्रसार एवं अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण सेच्नुरी पर्यटन महोत्सव–२०७४ आयोजना गरेको हो । गत असोज २५ गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण गत पुस १० देखि १५ गतेसम्म विविध खेलकूद एवं साँस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको भइसकेको महोत्सव प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए ।