अन्नपूर्ण बेसक्याम्प हेलिकोप्टरमा सरर (फोटो फिचर)

पोखरा, फागुन ७ ।
आजभन्दा ७८ बर्षअघि फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्ण चढ्दा कसैलाई पनि लाग्दैनथ्यो होला, यो ठाउँमा फर्किएर गोरा अनुहार आउँछन् । झन् नेपाली पुग्लान् भन्ने अपेक्षा सायदै हुँदो हो । हिमाल चढ्नु र हिउँमा रमाउनु शौख हो । त्यो भन्दा बढी साहस । दुवै मिसिएपछि उचाईतिरको यात्रा रमाईलो हुन्छ । अन्नपूर्ण बेस क्याम्प ट्रेकरहरुको महत्वपूर्ण गन्तब्य । ट्रेकिङ टुरिष्टका लागि यो ठाउँ निकै उत्कृष्ट छ । बिशेष गरी गोरा अनुहार (बिदेशी पर्यटक) यो ठाउँमा जान लालयित हुन्छन् । हुन त आन्तरिक पर्यटक पनि अचेलभरी यतारित जान थालेका छन् । तर उनीहरुको पाईला खासै मोडिँदैन अन्नपूर्ण तिर । भौगोलिक विकटता र लामो हिडाईका कारण चाहेर पनि नेपाली पर्यटकहरु धेरै पुग्दैनन् । विदेशी पनि यसको प्रचार अभावले पोखराबाटै फर्किन्छन् ।   
अहिले तिनै पर्यटकहरुलाई मध्येनजर गरेर नयाँ प्याकेज आएको छ, हेलिकोप्टर । हवाई उडानले अन्नपूर्ण बेस क्याम्पसको दुरी छोटिएको छ । हेलिकोप्टर कम खर्चमा रमणीय गन्तब्य पुग्ने माध्यम भएको छ । युवा ब्यवसायी दुर्गा गुरुङले अहिले फिष्टेल एयरको हेलिकोप्टर मार्फत अन्नपूर्ण ओहोर दोहोर गराउँछन् । करिब ७ दिन लाग्ने यो यात्रा ३० मिनेटमा आउजाउ गर्न सकिन्छ । गुरुङले हेलिकोप्टर भाडामा लिएर पर्यटक लक्षित प्याकेज सार्वजनिक गरेका छन् । ‘अरु बेला प्रतिब्यक्ति ३० हजार भन्दा बढी लाग्छ । मैले २० हजारमा पर्यटकलाई लाने ल्याउने गर्छु, उनले भने–४ साताका लागि हेलिकोप्टर भाडामा ल्याएको हुँ । यसले पर्यटकलाई सहज हुन्छ भन्ने लागेको छ ।’ ६ सीट भएको हेलिकोप्टर १५ मिनेटमा अन्नपूर्ण आधार शिविर पुग्छ । ३० मिनेट हिउँमा खेल्ने र अर्को १५ मिनेटमा पोखरा ल्याईसक्छ । गुरुङका अनुसार विहान ७ बजेदेखि साँझ ४ बजेसम्म हरेक दिन दैनिक ७ वटासम्म उडान हुन्छ ।
‘चाईनिज न्यू ईयरलाई लक्षित गरेर हेलिकोप्टर चलाएको हो । अहिले नेपालीहरु पनि निके उड्न थालेका छन्, उनले थपे–यसले नाफा भन्दा बढी टुरिजम प्रोमोसनलाई जोड दिएको छु ।’ विशेष गरी चीन, अष्ट्रेलिया, डेनमार्क, युके लगायत देशबाट आएका पर्यटकहरुले हेलिकोप्टर शयर गर्ने गुरुङ सुनाउँछन् । हालसम्म नेपालका उच्च पदस्थ र घुमफिरमा रुची राख्ने थुप्रैले हेलिकोप्टर चढेर अन्नपूर्णको यात्रा गरिसकेका उनले बताए । ‘हेलिकोप्टर बेलैमा बुकिङ गर्नुपर्छ । अहिले फोनबाटै अग्रिम बुकिङ गर्ने ब्यवस्था मिलाएका छौं, उनी भन्छन्–अहिले ट्रायल हो । राम्रो भयो भने निरन्तर पनि गर्न सकिन्छ ।’