अन्नपूर्ण गाउँपालिकामा पार्क बनाउने तयारी, ५० लाख लगानी हुने

पोखरा, मंसिर २३ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा वातावरणमैत्री पार्क निर्माण हुने भएको छ । नेपाल सरकार वातावरण विभागको आर्थिक सहयोगमा गाउँपालिकामा पार्क निर्माण हुन लागेको हो ।

पार्क बनाउनका लागि विभागका महानिर्देशक झलकराम अधिकारी र गाउँपालिका प्रमुख युवराज कुवँरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसका लागि विभागले गाउँपालिकालाई बढीमा ६० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।

त्यसको २० प्रतिशत गाउँपालिकाले थप गर्नुपर्नेछ । पार्कको स्टिमेट गाउँपालिकाले गर्नेछ भने कम्तिमा १० रोपनी जग्गा खोज्नुपर्छ ।

अन्नपूर्ण १ भ्यूटावर क्षेत्रमा पार्क निर्माण हुने गाउँपालिका प्रमुख यूवराज कुवँरले जानकारी दिए । ‘लगानीको सम्झौता भैसकेको छ । पार्ककको स्टिमेट हामी बनाउछौं, उनले भने–स्टिमेटका आधारमा ८० प्रतिशत विभागले सहयोग गर्छ बाँकी २० प्रतिशत हामी लगानी गर्छौं ।’

करिब ६८ रोपनी जग्गा त्यस ठाउँमा रहेको कुवँरले बताए । ‘पहिलो चरणमा ५० लाख लगानी हुन्छ । जग्गाको सीमाना घेर्ने र विरुवा रोप्ने काम तत्काल थाल्छौं, कुवँर भन्छन्–पार्कमा बस्ने ठाउँ बन्छ । सदावहार फूल्ने फूलहरु लगाईन्छ ।’ क्षेत्र विस्तारै बढाउँदै लगेर पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्ने कुवँरको भनाई छ ।