अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव

पोखरा, भदौ २९ ।
हिमाल आरोहणको जेठो अन्नपूर्ण हिमालको आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाँउपालिकाको सक्रियतामा महोत्सव हुन लागेको हो ।
अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवँरका अनुसार महोत्सवसँगै अन्नपुर्ण आधार शिविरको पदयात्रा मार्गलाई थप व्यवस्थित गरिनेछ । “अन्नपूर्ण हिमाल प्रदेश नं ४ को मात्र नभएर समग्र नेपालकै गौरवपूर्ण स्थल हो,” उनले भने, “यहाँको आवश्यक पूर्वाधार विकास गर्दै अधिक संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने हाम्रो लक्ष्य छ ।”
महोत्सव असोज २५ गतेदेखि २०७५ जेठ २० गतेसम्म तीन चरणम हुने महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिए । उनका अनुसार पहिलो चरणको कार्यक्रमको उद्घाटन ११ अक्टुवर (असोज २५) गते बुधवार अन्नपुर्ण आधार शिविरमा हुनेछ भने समापन जुन ३ (जेठ २०) अन्नपुर्ण आरोहण दिवसको अवसर पारीे घान्द्रुकमा गरिने छ ।
पहिलो चरणको मुख्य कार्यक्रमका रुपमा अन्नपुर्णका प्रथम आरोही मौरिस हर्जोगको अर्धकदको सालिक शिलान्यास गरिने छ । त्यस अवसरमा मोरिस हर्जोग, कर्णेल घनबिक्रम राणा र सरदार आङ थार्के शेर्पाको परिवारका सदस्यलाई सम्मान, परम्परागत होटल व्यवसायको इतिहास झल्कने फोटो प्रर्दशनी, हिमाली तथा लेकाली वन्यजन्तुको अवलोकन, हिमश्रृङ्खलाको दृश्यावलोकन लगायतका कार्यक्रम गरिने प्रचारप्रसार उपसमिति संयोजक टंकराज अधिकारीले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न ललित गुरुङको संयोजकत्वमा ३५ सदस्यीय मूल व्यवस्थापन समिति, १६ विभिन्न उप समिति, ७२ सदस्यीय सल्लाहाकार समिति निमार्ण गरिएको छ ।
महोत्सव सम्पन्न गर्न करिब एक करोड पाँच लाख खर्च लाग्ने अनुमान गरिएको छ । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधार शिविरको पहिलो पदयात्री एरिक सिप्टन हुन् । उनले सन् १९६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेका थिए ।