अन्नपूर्णको विवादमा समाधान खोजियो

पोखरा, पुस ३० ।
अन्नपूर्ण गाउँपालिकाको विवाद समाधान भएको छ । पूरानै ठाउँबाट कार्यालय सञ्चालन गर्ने भएपछि आईतबार दुवैतिरका कार्यालयको ताला खोलिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका बासिन्दाले ढिकुरपोखरी स्थित गाउँपालिका कार्यालयमा २ साता अघि तालाबन्दी गरिदिएका थिए । ‘यसअघिको अस्थायी कार्यालयबाट नै सेवा सञ्चालन गर्ने मौखिक सहमति गाउँपालिकाका अध्यक्ष ज्यूसँग भएको छ । सहमति पछि दुवै ठाउँमा गरिएको तालाबन्दी खुलेको छ, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष चित्रबहादुर गुरुङले भने–स्थायी कार्यालयका लागि पनि माछापोखरी मन्त्रालयबाटै रेजेक्ट भएको भनेर अध्यक्षले भन्नुभएको छ । अव अस्थायी कार्यालय नजिकै स्थायी केन्द्र बनाउन मन्त्रालयमा सिफारिस गर्ने सहमति जुटेको छ ।’ उनका अनुसार गाउँपालिकाका महत्वपूर्ण विभागहरु अस्थायी कार्यालयबाट चलाउने र अस्थायी कार्यालयमा नअटेका काम ढिकुरपोखरीबाट चलाउने सहमति भएको छ ।
गाउँपालिका अध्यक्ष युवराज कुवँरले जनताको हितका निम्ति जननिर्वाचित प्रतिनिधीहरुले आवशयक्त परे सडकमा बसेर पनि काम गर्न तयार रहेको बताए । ‘हामी जनताका प्रतिनिधी हौं । जनतालाई दुख नहोस्, जहाँ बसेरपनि सेवा दिन तयार छौं, उनी भन्छन्–जहाँबाट छिटो र सरल रुपमा सेवा प्रदान गर्न सकिन्छ त्यतैतिर हाम्रो जोड रहन्छ ।’ स्थायी केन्द्रका लागि अन्नपूर्ण गाउँपालिकालाई करिब ४ सय रोपनी जग्गा चाहिने भन्दै जग्गा उपलब्ध भएको ठाउँमा जनताको पायक पर्नेगरी सिफारिस गरिने कुवँरको भनाई छ । यसका लागि गाउँ कार्यपालिकाले निर्णय गर्ने कुवँरले बताए ।
यसअघि पनि कार्यालय सारेकै बिषयमा विवाद सिर्जना भएपछि एकसातासम्म कार्यलयमा तालाबन्दी भएको थियो । कार्यालय सञ्चालन नियमित गर्नका लागि आईतबार गाउँपालिका स्तरीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र लुम्लेका स्थानीय तथा संघर्ष समितिको बैठक बसेको थियो । बैठकको मौखिक निर्णय पछि संघर्ष समितिका संयोजक एकदेव देवकोटाले चावी अध्यक्षलाई बुझाएका हुन् ।