अन्तर जिल्ला क्रिकेट लिगमा कास्कीको विजयी शुरुवात

 

पोखरा, माघ २९ ।

पोखरा क्रिकेट एकेडेमिको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि प्रजुले नेपालमा क्रिकेट छोटो समयमै लोकप्रिय बनेको उल्लेख गरे । पोखरामा पनि यसको लोकप्रियता बढदै गएको उनले बताए । पोखरामा पूर्वाधार विकास गर्न सकिए क्रिकेटका मार्फत पर्यटन विकास गर्न सकिने प्रजुले बताए ।

आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एकेडेमीका उपाध्यक्ष सन्तोष श्रेष्ठ, कास्की जिल्ला क्रिकेट संघका सदस्य कृष्ण चन्द, प्रतियोगिता संयोजक चन्द्र गुरुङ्ग, प्रशिक्षक रिजन प्रजु, गण्डकी प्रदेश क्रिकेट टिमका कप्तान गोविन्द प्रधान, पिच क्युरेटर प्रदिप राउत लगायतले यहाँको क्रिकेट अवस्थाका बारेमा प्रकास पारेका थिए ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा कास्की ‘ए’ ७ रनले विजयी भएको छ । टस जितेर व्याटिङ्ग रोजेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ३६ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो । कास्कीको तर्फबाट सिबेन श्रेष्ठले ३० रन, आदित्य थापाले २४ र सुवास पौडेलले १३ बनाए ।

स्याङजाको बलिङमा सन्दिप पराजुलिले ४, किरण भट्टराईले ३ तथा सुजन गौतम र जनम भट्टराईले समान एक एक विकेट लिए ।

जितका लागि १ सय २८ को लक्ष्य सहित मैदान उत्रिएको स्याङजा ३४.३ ओभरमा १ सय २० रनमै समेटियो । स्याङजाको तर्फबाट सौजन्य रेग्मीले ३५, सुजन गौतमले २० तथा संदेश पंगेनी र राम खनालले १०÷१० रन जोडे । कास्कीको बलिङमा आदित्य थापाले ४, रोशनकान्त न्यौपानेले ३ तथा किरण पौडेलले २ विकेट लिए । खेलमा कास्कीका आदिप्य थापा म्यान अफ द म्याच भएका थिए । प्रतियोगिता अन्तर्गत बिहिवार बाग्लुङ्ग र स्याङजाविच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कास्कीका दुई टिम कास्की ए, कास्की बि सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ्ग र स्याँग्जाको एक एक टिम गरि कुल ५ टिमको सहभागिता रहेको छ । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदा शिर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्नेछ । च्याम्पियन टिमले नगद २० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्या, उत्कृष्ट बलर तथा हरेक खेलमा म्यान अफ द म्याच ट्रफि प्रदान गरिने छ ।