अन्तराष्ट्रिय माउण्टेन महोत्सव सकियो

पोखरा, मंसिर २६ ।
नेपाल पर्बतारोहण संघको आयोजनामा भएको पाँचौं अन्तराष्ट्रिय माउण्टेन फेस्टिभल बुधवार सकिएको छ । समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले महोत्सवले समाजमा रहेको पहिचानलाई स्थापित गरेको बताए । एनएमएका अध्यक्ष सन्तबिर लामाले पाँचौ संस्करणको महोत्सव पूर्ण रुपमा सफल भएको दावी गरे । उनले आगामी संस्करणलाई झनै बृहत बनाउने हौसला मिलेको बताए ।

संघका महासचिव कुलबहादुर गुरुङ्गले गण्डकी प्रदेशको राजधानीमा आयोजना गरिएको महोत्सवले आन्तरिक र बाह्य दर्शकलाई हिमाली जनजीविकासँग जोडेको विश्वास ब्यक्त गरे । एनएमएका प्रमुख कार्यकारी अधिकृत गंगासागर पन्तले पर्वतीय महोत्सवले पोखरा सहित गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उल्लेख गरे ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखराका प्रमुख शंकर गौतमले महोत्सवसँगै संग्रहालयमा आउने पर्यटक थप बढ्ने विश्वास लिएका छन् । नबिल बैंकको मुख्य प्रायोजनमा गरिएको महोत्सवका सघाउने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । पर्बतिय संग्रहालयका सल्लाहकार हरिध्वज तुलाचनको अध्यक्षतामा कार्यक्रम भएको हो ।