अनुभव र विगतको कामले चुनाव जित्छौंः कोइराला प्यानल

पोखरा, पुस २४ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनमा निर्वाचनको लागी प्यानल सहित उम्मेदवारी दिएको नारायण कोइराला प्यानल घरदैलो मै व्यस्त छ । बिहीबार नयाँबजार पृथ्वीचोकका क्षेत्रमा घरदैलो गरेको छ । मतदातालाई आफ्नो प्यानलको बारेमा जानकारी गराउनका लागि घरदैलो अभियानलाई जारी राखेको अध्यक्ष पदका उम्मेद्वार नारायण कोईरालाले जानकारी दिए । कोरोनाको कारण शिथिल भएको उद्यम र वाणिज्य क्षेत्र उठाउन संघको भूमिकालाई मतदाताले महत्वपूर्ण रुपमा लिएका छन् ।

‘वहाँहरुको समस्या सुन्न घरघरै पुगेका हौं । वहाँहरुको माग र गुनासो टिपेका छौं,’ उनले भने, ‘निर्वाचनको भोलि पल्टै देखि ति काममा दृढ भएर लाग्छौं । खासगरी कोभिड पछिको व्यापार व्यवसायको समस्या वहाँहरुले सुनाउनुभएको छ ।’ उम्मेदवारहरुले २५ गते हुने निर्वाचनमा मतदानका लागि आग्रह गरे । ‘सबैको राम्रो प्रतिक्रिया छ । पहिले गरेका काम पनि हेर्नुभयो होला,’ वाणिज्य तर्फका उपाध्यक्ष उम्मेदवार अर्जुन पोखरेलले भने, ‘खारिएको र अनुभवी अनुहार लिएर चुनावमा होमिएका छौं । मतदाताले भोट दिनुहुन्छ भन्ने विश्वास छ ।’

बिहीबारको घरदैलो अभियानका क्रममा पोखरा नयाँ बजारमा आर्या ईलेक्ट्रिकल्स संचालन गर्ने निल बहादुर भुजेलले टिम राम्रो भएको कारण आफ्नो मत खेर नजाने बताए । सबै चिनेका अनुहार भएपनि आफ्नोमा भोट माग्न आएका मध्ये कोईराला प्यानल काम गर्ने खालको भएको उनले बताए । बृहस्पती आयल स्टोर्सका संचालक राम बसेलले पहिलेदेखि संघको कुनै न कुनै पदमा बसेर काम गरेको टीम भएकाले अनुभवको आधारमा पनि संघको नेतृत्व गर्न सक्ने बताए । ‘सबै उम्मेद्वार एक पटक कुनै न कुनै पदमा काम गरिसकेकाहरु छन्, यो टिमले अवस्य काम गर्छ,’ उनले भने ।

पोखरा नयाँ बजारका दिपक किराना पसलका संचालक यामलाल पोखरेलले यो बिषम परिस्थीती चुनाव नगरि सर्वसम्मत चयन गर्नुपर्ने धारणा राख्छन् । निर्वाचनमा गएपछी एउटालाई मत दिनैपर्ने बताउदै नारायण कोईरालाको पालो रहेकाले प्यानललाई आफुले मत दिने बताए । उनले भने, ‘वर्षौ देखि काम गरेको छ नारायणले अब अध्यक्षको पालो उसैको हो त्यो भन्दा माथी अरु पद नै छैन ।’

यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, बाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । सदस्यहरुमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेद्वार छन् । यस्तै, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् ।

तिमध्ये बरिष्ठ उपाध्यक्ष प्रजापति, एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी सर्वसम्मत निर्वाचित भैसकेका छन् । उद्योग बाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफुहरुले चुनाव जित्ने दावी कोइराला प्यानलको छ ।