अधिकार माथीबाट लिने हो तलबाट खोस्ने हैन–मुख्यमन्त्री पौडेल

पोखरा, भदौ २१ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अधिकार माथीबाट विकेन्द्रिकरण गर्नुपर्नेमा खोस्ने काम भएको आरोप लगाएका छन् । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले सरकारले तल्ला तहका अधिकार खोसेर कमजोर पार्न लागेको बताए । ‘अधिकार माथीबाट लिने हो तलबाट खोस्ने हैन । तलका स्थानीय तहलाई थप अधिकार दिने हो । खोस्ने हैन, उनले भने–हामी संकटमा छौं । हामीसँग चुनौति छ । यसलाई संस्थागत गर्ने जिम्मेवारी हो । अधिकार सम्पन्न सरकार बनाएमात्रै संघीयता संस्थागत हुन्छ ।’

उनले जिल्ला तहलाई जिम्मेवार बनाएर प्रदेशको काम गर्ने युनिटको रुपमा विस्तार गर्नुपर्ने उनको सुझाव छ । ‘जिल्लालाई जिम्मेवार बनाएनौं भने काम गर्ने कुनै युनिट हुँदैन । हामीले ल्याएको बजेट कहाँबाट कार्यान्वयन गर्ने?, उनले भने–कुनै परिवर्तन खोज्छौं र नयाँ कुरा दिन खोज्यौं भने बाधा थाप्ने काम भएको छ । सरकारले जिल्ला तहका सबै कार्यालय प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ ।’