अतिथि सत्कार गर्न मेयरले मासिक २० हजार मात्रै पाउने

पोखरा, चैत २८ ।
नगरपालिकाका मेयरले अतिथि सत्कारका लागि महिनामा २० हजार मात्रै खर्च गर्न पाउने भएका छन् । फागुन २५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको नमूना कानूनमा मेयरको खर्च सीमा तोकिएको छ । अनावश्यक खर्च बढेपछि संघ सरकारले सीमा तोकिदिएको हो ।

गाउँपालिका÷नगरपालिका कार्यसञ्चालन निर्देशिका, २०७७ को नमूना मस्यौदा तयार गरी सबै स्थानीयलाई पठाएको सूचना विवरणमा चियापान, अतिथी सत्कार, बिजुली बत्ती, पानी, टेलिफोन, रिचार्ज कार्ड, कार्यालयका लागि घरभाडा, पारवहन सुविधा, बैठक भत्ता, खाजा खर्च, दैनिक भत्ता, पोशाक, प्रोत्साहन भत्ता, तालिम, गोष्ठी र सेमिनार भत्तालगायत थुप्रै शिर्षकमा बजेट दिइएको छ ।

विविध शिर्षकमा भत्ता र सुविधा दिइएको छ । गाउँपालिका÷नगरपालिकाका अध्यक्ष, प्रमुख, उपाध्यक्ष÷उपप्रमुखको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक १ हजार पाँच सय, अन्य पदाधिकारी वा कर्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक १ हजार २ सय र एक व्यक्तिले एक दिनमा दुई बैठक भत्तामात्र बुझ्न पाउने उल्लेख छ ।

जसका लागि कार्यालय समयबाहेक दुई घन्टाभन्दा बढी कार्य गरको हुनुपर्ने भनिएको छ । बैठक भत्ताबापत् कर कट्टा गरिने र पानी तथा खाजा खर्चबापत् साढे दुई सय रुपैयाँ पनि उपलब्ध गराइने भनिएको छ । यो सुुविधा गण्डकीमा भने निकै धेरै हो । प्रदेश सरकारले नमूना कानून भन्दा कम खर्च तोकेको छ ।