अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै : मन्त्री अर्याल

 

काठमाडौं, चैत ४ ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी हुन् ।

मन्त्री अर्यालले भू–उपयोग ऐन कार्यान्वयनको लागि छिट्टै नियमावली ल्याउने तयारीसमेत भइरहेको जानकारी गराइन् ।

पछिल्लो समय मालपोत कार्यालयको कार्यसम्पादनमा सुधार आएको दाबी गर्दै उनले मुलुकभरका मालपोत कार्यालयका कामहरु प्रविधिमन्त्री बनाउँदै लैजाने काम भइरहेको उल्लेख गरिन् ।

मन्त्री अर्यालले सुकुमबासी र अव्यवस्थित बसोबास समस्या समाधानको लागि पनि काम भइरहेको बताइन् ।

शून्य समय

राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद भगवती न्यौपानेले ‘कोरोनाको’ त्रास फैलिएको मौका छोपेर कालोबजारी गर्नेहरुलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले ‘साग’मा पदक विजेता खेलाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको पुरस्कारको रकम अझै पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘शिक्षासम्बन्धी केही नेपाल संशोधन गर्ने विधेयक, २०५७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत् स्वीकृत गरेको छ ।
(ईमेजखबरबाट साभार)