अक्सिजन प्लाण्ट बनाउन विदेशबाट नेपालीको सहयोग

पोखरा, जेठ २१ ।
पोखरामा अक्सिजन प्लाण्ट जडानका लागि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाउन थालेका छन् । बतास फाउण्डेसनको संयोजनमा पोखरा स्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण हुन लागेको छ ।

यसका लागि हङकङमा बस्ने पुर्व भलिवल खेलाडी यामबहादुर गुरुङले ५१ हजार र युकेमा बस्ने टेकबहादुर गुरुङले ५१ हजार गरी १ लाख २ हजार सहयोग पठाएका हुन् । नेपालमा अक्सिजन अभावले धेरै विरामीको अकालमा मृत्यु हुने खवर पाएपछि अक्सिजन प्लाण्टमा सहयोग गरेको उनीहरुले बताए ।

‘बाहिर बसेर पनि नेपालको समाचार हेरिरहन्छौं । अक्सिजन नपाएर विरामी मर्नुपरेको खवरले दुख लाग्छ,’ यामबहादुर गुरुङले भने, ‘दुख पर्दा सबैले सहयोग गर्नुपर्छ । हामीले मानवता मात्रै देखाएका हौं । छिटो प्लाण्ट जोडेर अक्सिजन वितरण सुरु होस् ।’

युके र हङकङमा बस्ने धेरै नेपालीहरुले प्लाण्ट निर्माणका लागि सहयोग पठाएका छन् । बतास फाउण्डेसनको संयोजनमा पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उच्च गतिको अक्सिजन उत्पादन प्लाण्ट जडान गर्न लागिएको हो । निजी क्षेत्रहरुले संयुक्त रुपमा पोखरासहित देशभरका १० ठाउँमा अक्सिजन प्लान्ट निर्माण गर्न लागेको छ । यसका लागि १२ करोड रुपैयाँ लाग्ने बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।