प्रदेश ४ को मन्त्रीपरिषद पहिलो बैठक, यस्ता छन् निर्णय

पोखरा, फागुन ४ ।
शपथ ग्रहणसँगै प्रदेश ४ को पहिलो मन्त्रीपरिषद् बैठक बसेको छ । दुई सदस्यीय मन्त्रीमण्डलको पहिलो बैठकले ५ बर्षभित्रै प्रदेश ४ का सबै घरमा विद्युत विस्तार गरिसक्ने निर्णय गरेको छ । शहीदप्रति श्रद्धाञ्जली दिएर सुरु भएको बैठकमा निर्णय पनि शहीदको सम्मानमा जोडिएको छ । यस्तै बैठकले प्रदेश सरकारको प्रबक्ताका रुपमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतलाई तोकेको छ ।
५ बर्षभित्रमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सबैका घरघरमा विद्युत विस्तार गर्ने, ५ बर्षभित्रमा प्रदेशका सबै स्थानीय तहको केन्द्रसँग प्रदेश राजधानीको सडक पहुँच विस्तार गर्ने, स्थानीय तहसँगको समन्वयमा २ बर्षभित्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने लगायतका निर्णय छन् ।
यस्तै प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम (मल्टिल्चर भिलेज) स्थापना गर्ने, सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतिय सुशासनमा जोड दिने, ५ बर्षभित्र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने, प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ स्विकृत गर्ने, प्रदेश सरकारको कार्यविभाजन नियमावली २०७४ स्विकृत गर्ने, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ स्विकृत गर्ने निर्णय भएको उद्योग मन्त्री तथा प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।